मुस्ताङमा पर्यटक आगमन वृद्धि

 संवाददाता    २०८१, १८ पुष बिहीबार १६:३१     95 जनाले पढ़िसके



Spread the love

म्याग्दी । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५० दशमलब २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् २०२४ मा एक लाख ३५ हजार सात सय १९ जना पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तब्यमा समेटिनु, नयाँ गन्तब्यको पहिचान, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका र अनलाइन मार्फत रुट परमिट लिने प्रणाली शुरु भएका कारण मुस्ताङमा पर्यटक आगमन बढेको रेग्मीले बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिकहरु मुस्ताङ भ्रमणमा आउने क्रम क्रम बढेको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेम प्रसाद पौडेलले बताए ।

सन् २०२३ मा ९० हजार तीन सय ५६, सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा दुई हजार र २०२० मा दुर्ई हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका तथ्याङ्क छ ।

सन २०२४ मा मुस्ताङ भ्रमणमा आएका मध्य एक लाख नौ हजार पाँच सय ४९ जना सार्क राष्ट्रका र २६ हजार एक सय ७० जना तेस्रो मुलुकका छन् । जनवरीमा दुई हजार एक सय २६, फेब्रअरीमा तीन हजार छ सय ९९, मार्चमा १४ हजार आठ सय २९, अप्रिलमा १७ हजार तीन सय २०, मेमा २९ हजार सात सय ७३, जुनमा १६ हजार तीन सय ४२, जुलाईमा तीन हजार चार सय ४०, अगस्टमा तीन हजार पाँच सय ८०, सेप्टेम्बरमा ११ हजार सात सय ८५, अक्टोबरमा १४ हजार ३५, नोबेम्बरमा १२ हजार ३५ र डिसेम्बरमा छ हजार सात सय पाँच जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

कागबेनी देखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शूल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु. एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु. तीन हजार शूल्क तोकिएको छ ।