अमेरिकामा बसोबास गर्ने नेपाली नर्स ममता काफ्ले भट्टको हत्याको आरोपमा मुद्दा खेपिरहेका उनकै श्रीमान् नरेश भट्टले अदालतमा आफैँ साक्षीका रूपमा उपस्थित भएर बयान दिएका छन् । उनले आफ्नी पत्नीलाई कहिल्यै शारीरिक दुर्व्यवहार नगरेको दाबी गरे ।
बुधवार, नोभेम्बर ४ मा भएको सुनुवाइका क्रममा नरेशले आफू र ममताबीचको वैवाहिक सम्बन्ध, पारिवारिक जीवन र आपसी सम्बन्धबारे बयान दिएका हुन् । अमेरिकी सञ्चारमाध्यम फक्स ५ डीसीका अनुसार उनले विवाहका सुरुका दुई वर्ष निकै सुखद रहेको बताएका छन् ।
अदालतमा बयान दिँदा नरेशले आफू धेरै आशावादी र थोरै नर्भस भएको उल्लेख गरे । तर बयानका क्रममा उनी निर्धक्क देखिन्थे र हाँसीहाँसी जवाफ दिएका थिए । अनुहारमा आत्मग्लानीको कुनै भाव देखिएन ।
आफ्नो अंग्रेजी भाषाको क्षमताका कारण न्यायाधीश र जुरी सदस्यहरूले आफूले भन्न खोजेको कुरा बुझ्न सक्ने हुन् कि होइनन् भन्ने चिन्ता पनि उनले व्यक्त गरेका थिए । प्रश्न बुझ्न र जवाफ दिन सहजताका लागि उनीसँग दोभाषे पनि उपस्थित थिए ।
अदालतमा आफ्नो वैवाहिक सम्बन्धबारे बयान दिने क्रममा नरेशले ममतासँग कहिलेकाहीँ विवाद हुने गरेको स्वीकार गरे । तर, आफूहरूबीच शारीरिक हमला वा कुटपिट कहिल्यै नभएको उनको दाबी थियो ।
शारीरिक हिंसाको आरोपबारे नरेशले भने, ‘हाम्रो परिवारमा कसैले महिलामाथि हात उठाएको इतिहास छैन, र मैले जीवनमा कहिल्यै ममतालाई रिसको झोकमा समेत छोएको छैन ।’
उनले ममतासँगको सम्बन्धलाई निकट र एकअर्कामा निर्भर रहेको सम्बन्धका रूपमा चित्रण गरे । ममता अमेरिका आएपछि उनको पढाइ, जागिरका लागि आवेदन, कागजी प्रक्रिया र सवारी चलाउन सिक्नेसम्मका काममा आफूले सहयोग गरेको नरेशले बताए ।
घरायसी जिम्मेवारीमध्ये धेरै काम आफूले सम्हाल्ने गरेको नरेशको जिकिर थियो । ममताका साथीहरू आफूभन्दा धेरै रहेको र उनले साथी बनाउन वा पैसा प्रयोग गर्न आफूले रोकटोक नगरेको पनि उनले अदालतमा बताए ।
दुवैबीच कहिलेकाहीँ भनाभन हुने गरे पनि त्यस्ता विवादका विशेष घटना आफूलाई सम्झना नभएको र ती कुरा सम्झिरहनुपर्ने खालका नभएको नरेशको भनाइ थियो ।
नरेशले ममतासँगको चिनजान र विवाहको प्रसंग पनि अदालतमा सुनाए । नेपालमा अर्कै युवतीसँग बिहे गर्न लाग्दा ‘चिना नमिलेर’ रोकिएको र ती युवतीकै रुममेट ममतासँग सन् २०२० मा फेसबुकमार्फत सम्पर्क भएको उनको बयान थियो ।
नरेशका अनुसार ममतासँग एकदेखि दुई सातासम्म कुराकानी गरेपछि विवाह गर्ने निर्णयमा पुगेका थिए । परिवारमा मृत्यु भएपछि सुरुमा तय भएको विवाहको मिति सार्नुपरेको र पछि त्यही वर्ष विवाह भएको उनले बताए । विवाहपछि पारिवारिक सहमतिमै ममतालाई अमेरिका ल्याइएको थियो ।
सुरुवाती दुई वर्ष वैवाहिक जीवन अत्यन्तै सुमधुर रहेको दाबी गर्दै नरेशले ममताको नर्सिङ लाइसेन्स परीक्षा, जागिरको आवेदनदेखि भर्चुअल अन्तर्वार्तासम्म आफूले नै अगाडि सरेर सबै कागजी काम गरिदिएको बताए ।
ममता गर्भवती भएको समयमा भने आफू चिन्तित भएको उनले बताए । छोरी जन्मिनुअघि ममताको दुईपटक गर्भपतन भएको पनि उनले अदालतमा सुनाए ।
नरेशका अनुसार ममताका यसअघि दुई पटक गर्भपतन भइसकेकाले सन् २०२३ अगस्टमा छोरी जन्मिँदा उनीहरू निकै सतर्क थिए । लामो व्यथापछि शल्यक्रियामार्फत छोरीको जन्म भएको थियो । तर, शल्यक्रियाअघि ढाडमा दिइने सुई (एपिड्युरल) पटक-पटक गलत तरिकाले छेडिँदा ममतालाई मेरुदण्ड र दिमागमा असर पुगेर अत्यधिक टाउको दुख्ने समस्या भयो ।
जसका कारण उनी हप्ता दिन अस्पताल बस्नुपरेको र घर फर्किएपछि पनि लामो समय ओछ्यानबाट उठ्न नसक्दा दिसा-पिसाब सफा गर्नेदेखि सबै स्याहार आफूले नै गर्नुपरेको नरेशले अदालतसमक्ष बताए ।
छोरी जन्मिएपछि ममताको स्वभाव र व्यवहारमा अस्वाभाविक परिवर्तन आएको नरेशको दाबी छ । पहिले निकै हँसमुख, सक्रिय र घरको भान्सामा पूर्ण नियन्त्रण राख्ने ममता बिस्तारै सुस्त बन्दै गएको र भान्साको चासो नै छाडिदिएको उनले बताए ।
‘उनी दिनभर सुत्न खोज्ने र सामान्य कुरामा पनि झर्किने हुन थालिन् । मैले राति खोकेको, शौचालय फ्लस गरेको वा बत्ती बालेको जस्ता सानातिना कुरामा पनि उनी चिढिन्थिन्,’ नरेशले बयानमा भनेका छन्, ‘अहिले फर्केर हेर्दा उनलाई प्रसवपछिको डिप्रेसन (पोस्टपार्टम डिप्रेसन) भएको हुनसक्छ, तर म दिनमा १६–१७ घण्टा दुईवटा जागिरमै व्यस्त भएकाले मैले त्यसलाई गम्भीर रूपमा बुझ्न सकिनँ ।’
ममताको परिवारसँग आफ्नो सम्बन्ध राम्रो रहेको, विशेषगरी उनका आमाबुबासँग राम्रो सम्बन्ध रहेको नरेशको दाबी थियो । ममताका दाजु महेश काफ्लेले सोमबार अदालतमा दिएको बयानबाट मात्रै आफूलाई दाजुले मन नपराउने रहेछन् भन्ने थाहा भएको पनि उनले बताए ।
ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए ।
त्यसपछि प्रहरी दम्पती बस्दै आएको घरमा पुगेको थियो । नरेशले सुरुमा ममता हराएको विश्वास नभएको र आफूले उनलाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए । उनले ममता घर छाडेर जान चाहेको र सम्बन्ध विच्छेदको कुरा गरेको पनि प्रहरीलाई बताएका थिए ।
अगस्ट ५ मा नरेशले औपचारिक रूपमा ममता हराएको उजुरी दिएका थिए । तर, परिवार र साथीहरूले ममताले आफ्नो सानो छोरीलाई छाडेर कसैलाई खबर नगरी घर नछाड्ने बताउँदै आएका थिए ।
प्रहरीले अगस्ट २२, २०२४ मा नरेशलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा दम्पतीको घरको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग फेला परेको थियो । अनुसन्धानकर्ताहरूले रौँका टुक्रा रहेको विद्युतीय आरा पनि बरामद गरेका थिए ।
मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले घरमा भेटिएको रगत, फरेन्सिक परीक्षण, विद्युतीय आरा, मोबाइल फोनका विवरण र नरेशको गाडीको आवागमनसम्बन्धी तथ्यांकलाई प्रमाणका रूपमा प्रस्तुत गरेको छ ।
अभियोजन पक्षका फरेन्सिक विशेषज्ञले शयनकक्षको कार्पेटमा भेटिएको अधिकांश रगत ममताकै भएको सम्भावना अत्यन्त बलियो रहेको बयान दिएका थिए । विद्युतीय आरामा भेटिएको रगत तथा डीएनए पनि ममतासँग सम्बन्धित रहेको अभियोजन पक्षको दाबी छ ।
अभियोजन पक्षले नरेशले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर लुकाएको आरोप लगाएको छ । तर, ममताको शव अहिलेसम्म फेला परेको छैन ।
यसअघि प्रतिरक्षा पक्षले भने अभियोजन पक्षका प्रमाणमा रहेका रिक्तता र अनुमानमा आधारित व्याख्यालाई प्रश्न उठाउँदै आएको छ । प्रतिरक्षा पक्षको तर्कअनुसार ममताको बेपत्ता भएको समय र घटनाको वास्तविक क्रमबारे अभियोजन पक्षले उठाएका सबै प्रश्नको निर्णायक जवाफ प्रमाणले नदिएको दाबी गरिएको छ ।
नोभेम्बर २ मा अभियोजन पक्षले आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेको थियो । त्यसपछि प्रतिरक्षा पक्षले नरेशलाई नै साक्षीका रूपमा प्रस्तुत गरेको हो । उनले अदालतमा राखेका दाबीलाई अभियोजन पक्षले जिरहका क्रममा चुनौती दिन सक्छ । त्यस क्रममा उनको बयान, यसअघिका प्रहरीसमक्षका भनाइ र प्रस्तुत भौतिक प्रमाणबीच मेल छ वा छैन भन्ने विषय महत्त्वपूर्ण हुनेछ ।
नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाउने र शवलाई क्षतविक्षत पार्ने अभियोग लगाइएको छ । उनले आफूलाई दोषी मानेका छैनन् । ममताको शव फेला नपरेको अवस्थामा अभियोजन पक्षले प्रस्तुत गरेका फरेन्सिक प्रमाण, घटनाक्रम र नरेशको बयानलाई जुरीले कसरी मूल्यांकन गर्छ भन्ने विषय यो मुद्दाको निर्णायक पक्ष बन्ने देखिन्छ ।
नरेशको बयान हत्याको मुख्य विषयवस्तुमा प्रवेश गरिसकेको छैन । बयान आज पनि निरन्तर हुने छ । सम्भवत आजको बयानमा पत्नी हत्याका विषयमा उनीमाथि विस्तृत केरकार गरिनेछ ।