डा.डीआर उपाध्याय ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट दशौं मानार्थ डाक्टरको रुपमा सम्मानित

 कला तथा मनोरन्जन     २०८३, १९ आश्विन सोमबार ०८:१५     1  जनाले पढ़िसके



Spread the love

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका डा.डीआर उपाध्याय (धर्मराज उपाध्याय)लाई भारतको राजस्थानमा रहेको इन्टरनेसनल सेन्टर, जयपुरमा भएको विशेष समारोहमा किर्गिस्तानमा रहेको आईएलपीएमएस विश्वविद्यालयले मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरिएको हो । विश्व विद्यालयका प्रतिनिधि र अन्य प्रतिष्ठित अतिथिहरूले डा.उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधि प्रदान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा राजस्थानका उप-मुख्यमन्त्री डा. प्रेम चन्द बैरवा रहनुभएको थियो भने विशिष्ट अतिथिमा राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, राजस्थान विधानसभाका पूर्व सदस्य अशोक परनामी, राजस्थान विधानसभाका सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री श्रीमती एकता अग्रवाल, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड्सका ब्रान्ड एम्बेसेडर डा. राम सिंह चौहान, पद्मश्री पुरस्कार विजेता, वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. एम. वली लगायतका रहनुभएको थियो ।

उपाध्यायलाई साहित्य तथा संगीत क्षेत्रमा पुर्‍याएको योगदान र उपलब्धिको कदरस्वरूप मानार्थ उपाधि प्रदान गरेको हो । विश्वविद्यालयद्वारा जारी प्रमाणपत्रमा उपाध्यायलाई ‘डाक्टर अफ ह्युमन लेटर्स (डिएचएन), उपाधि प्रदान गरिएको उल्लेख छ । उपाधि प्रदान गरिएको अवसरमा जारी सम्मानपत्रमा उपाध्यायको योगदान, उपलब्धि, समर्पण तथा समाजमा पुर्‍याएको प्रभावको प्रशंसा गरिएको छ ।

उपाधिसँगै प्रदान गरिएको स्मृति चिह्नमा उपाध्यायलाई साहित्य तथा संगीत क्षेत्रमा उत्कृष्ट योगदान र विशिष्ट उपलब्धिका लागि सम्मान गरिएको उल्लेख छ । उपाध्यायले प्राप्त गरेको यो सम्मानले नेपाली साहित्य तथा संगीत क्षेत्रमा उनको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मानित गरेको जनाइएको छ ।

समाजशास्त्रमा सन् २०००मा विद्यावारिधि गर्नुभएका उपाध्यायलाई यसअघि विभिन्न नौ विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको दशौं मानार्थ विद्यावारिधि हो । डा.उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि नौवटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा.उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । डा.उपाध्यायले गीतसंगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

यस्तै, उहाँका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको पछिल्लो उपन्यास ‘आशक्ति’ र कवितासंग्रह कवितासंग्रह ‘अन्तसंस्करण’ रहेको छ ।