आन्तरिक लेखापरीक्षणमा बेरुजु १० अर्ब नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार कुल १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रुपैयाँ बेरुजु कायम भएको हो ।
महालेखा नियन्त्रक कार्यालयले तयार पारेको प्रतिवेदनमा संघीय निकायहरूसहित हस्तान्तरित अख्तियारीअन्तर्गतका विनियोजन, राजस्व, धरौटी तथा कार्य सञ्चालन कोषको कारोबार परीक्षण गर्दा असुलउपर गर्नुपर्ने बेरुजु ३ अर्ब ४२ करोड ६६ लाख ३१ हजार ३३१ रुपैयाँ, नियमित गर्नुपर्ने बेरुजु एक अर्ब ९८ करोड ३३ लाख २० हजार रुपैयाँ र म्याद नाघेको पेस्की ५ अर्ब २७ करोड १६ लाख २९ हजार रुपैयाँ रहेको उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको कुल बेरुजु ९ अर्ब २४ करोड ३१ हजारसँग तुलना गर्दा समीक्षा वर्षमा आन्तरिक लेखापरीक्षणको बेरुजु एक अर्ब ४४ करोड १५ लाख ४९ हजारले वृद्धि भएको छ ।
बजेट विनियोजनको दायरा विस्तार हुनु, तत्कालीन समयमा भएको जेनजी आन्दोलनका कारण सार्वजनिक सम्पत्ति तथा सरकारी कागजातमा क्षति पुग्नुका साथै कर्मचारीहरूबाट हुने नियमित कार्यगत त्रुटि र असावधानीका कारण बेरुजुको दायरा फराकिलो भएको प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदनमा भनिएको छ– तत्कालीन समयमा भएको जेनजी आन्दोलनका कारण सार्वजनिक सवारी साधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा क्षति पुगेको हुँदा त्यसको प्रतिकूल प्रभावस्वरुप बेरुजु रकम बढ्न गएको देखिन्छ । यसका अतिरिक्त, कर्मचारीहरूबाट हुने नियमित कार्यगत त्रुटि, प्रक्रियागत भूल तथा असावधानीमा समेत बढोत्तरी हुनुले समग्र बेरुजुको आयतन वृद्धि भई वित्तीय अनुशासनमा थप चुनौती खडा भएको पुष्टि गर्दछ ।