संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् ।
शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आइपुगेका हुन् । निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्था डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार निकले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता तेश्रो विश्वका मुलुकले कसरी आफ्नो स्थान बनाउन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर मन्तव्य दिनेछन् । विश्वव्यापी एआई प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता र नेपालमा एआईको रणनीतिक सम्भावना तथा चुनौतीजस्ता विषय उनको मन्तव्यमा समेटिनेछन् ।
निक लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स, र साइबर सुरक्षासम्बन्धी विश्वव्यापी नीति निर्माणमा सक्रिय छन्।
उनले विगत दुई दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा डिजिटल अर्थतन्त्र र प्रविधिसम्बन्धी नीति निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् ।
यस वर्ष ‘फ्रम प्रमिस टु प्रोग्रेसस् अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ भन्ने मूल नारामा केन्द्रित हुनेछ।
‘फ्रम प्रमिस टु प्रोग्रेसः अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’, (प्रतिबद्धतादेखि प्रगतिसम्मः नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार) शीर्षकसहित हुन लागेको एक दिवसीय सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारर्मीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ ।