सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले मुलुकमा धेरै खालका समस्याहरू देखिएको र समस्या समाधानका लागि चुनौतीहरू पनि थपिएको बताए । उनले चुनौतीहरूभित्र पछिल्लो समय विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू लेखापढीसँग पनि सम्बन्धित रहेको बताए ।
अझै पनि मुलुकमा ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि नसक्ने अवस्था रहेको बताउँदै विश्व एआईको अवस्थामा पुग्दा लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानूनी प्रबन्ध, व्यवहारिक उतार्ने र जनताका कामहरूलाई गाँसेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषय मुख्य चुनौततिको रूपमा रहेको उल्लेख गरे ।
सभामुख घिमिरेले लेखापढीको ऐतिहासिकता आजको दिनले कायम गर्नुपर्नेमा जोड दिँदै विभिन्न चुनौतिहरूलाई सामना गर्न अधिवेशनले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।