लगानीकर्ता नाफा बुक गर्न केन्द्रित हुँदा कारोबार सुस्तायो, आज पनि घट्यो नेप्से

 संवाददाता    २०८१, २० भाद्र बिहीबार १५:४५     106 जनाले पढ़िसके



Spread the love

काठमाडौं । शेयर बजारका लगानीकर्ताहरू नाफा बुक गर्न केन्द्रित हुँदा बजार सुस्ताएको बजारका जानकारहरु बताउँछन् । अघिल्ला केही साता उछाल आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचाकांक यो साता शेयर खरिद बिक्रीको कारोबार सुस्ताएको छ ।
यस साताको पहिलो दिन आइतबार नेप्से ५३.६३ अंकले घट्यो । यसदिन १० अर्ब ५१ करोड ७६ लाख बराबरको मात्रै कारोबार भयो । आइतबारको कारोबारमा २०९ वटा कम्पनीको शेयरमूल्य घट्दा ३१ वटाको मात्रै बढ्यो ।

सोमबारको कारोबारमा भने नेप्से उच्च अंकले बढ्यो । यस दिन नेप्से १२७.३२ अंकले बढेर दुई हजार ८ सय २३ विन्दुमा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेर यो दिन १३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जबकी आइतबारको कारोबार १० अर्बमा सीमित बनेको थियो ।

नेप्सेको उकालो यात्रा मंगलबार पनि कायम नै रह्यो । यस दिन नेप्से ६.९० अंकले बढेर दुई हजार ८ सय ३० विन्दुमा पुगेको थियो । यो दिन पनि १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

दुई कारोबारको दिन (सोमबार र मंगलबार) उकालो लागेको नेप्से बुधवार भने उच्च अंकले घट्यो । बुधवार नेप्से ९० अंकले घटेर दुई हजार ७ सय ३९ विन्दुमा कायम भयो । यो दिन कारोबार रकम पनि घटेर १२ अर्ब ९२ करोड ५६ लाख बराबरको शेयर खरिद बिक्री भयो ।

नेप्सेको गिरावट बिहीबार पनि कायम रह्यो । बिहीबार नेप्से १२ अंकले घटेर दुई हजार ७ सय २७ विन्दुमा झरेको हो । यस दिन कारोबार रकम पनि ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको मात्रै भएको छ ।

साताभरको नेप्से हेर्दा बजार सुस्ताएको देखिन्छ । केही साता अगाडी एकै दिन २९ अर्ब बराबरको कारोबार भएको नेप्सेमा विस्तारै सुस्ताएर कारोबार रकम घट्दो क्रममा रहेको छ । यस साता सुस्ताएको नेप्से आगामी साता के होला भन्ने आम चासो बनेको छ ।