वीर अस्पतालका १२ सय कर्मचारीले पाएनन् कोभिडमा खटिएको भत्ता

 संवाददाता    २०८१, ३२ श्रावण शुक्रबार ०६:४३     88 जनाले पढ़िसके



Spread the love

कोभिड– १९ का वेला सेवामा खटिएका वीर अस्पतालका स्वास्थ्यकर्मीले हालसम्म पनि सेवा विस्तार तथा कोभिड भत्ता पाएका छैनन् । ०७७ मंसिरदेखि ०७८ असारसम्म आठ महिना खटिएका एक हजार दुई सय कर्मचारीले भत्ता पाउन नसकेका हुन् ।

स्वास्थ्य मन्त्रालयले ०७७ मा कोभिडमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने घोषणा गरेको थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत कर्मचारी, नर्सिङ कार्यक्रमका कर्मचारी र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले कोभिड भत्ता बुझिसके पनि न्याम्सअन्तर्गतकै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले भने सेवा विस्तारबापतको भत्ता पाएका छैनन् । स्वास्थ्यकर्मीले सेवा विस्तार भत्ता नपाएको गुनासो गरेपछि १२ असोज ०७९ मा स्वास्थ्य मन्त्रालयमा सचिव रोशन पोखरेल, वीर अस्पताल तथा चिकित्सक एसोसिएसनका तर्फबाट प्रा.डा. भूपेन्द्र बस्नेतलगायतबीच भत्ता दिनेबारे सहमति भएको थियो ।

भत्ता दिने प्रबन्ध स्वास्थ्य मन्त्रालय र न्याम्सले मिलाउने भन्नेबारे निर्णय भए पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । वीर अस्पताल आर्थिक प्रशासन महाशाखाका अनुसार ३५० चिकित्सक, चार सय नर्स र अन्य कर्मचारी गरी एक हजार दुई सयजनाले भत्ता नपाएका हुन् । एक हजार दुई सय कर्मचारीलाई भत्ता दिन करिब १७ करोड बजेट आवश्यक पर्ने आर्थिक प्रशासन महाशाखाको अनुमान छ ।

सही विवरण पठाए भत्ता वा पाउनुपर्ने सुविधा दिइन्छ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वीर अस्पतालका स्वास्थ्यकर्मीले पाउनुपर्ने कोभिड भत्ता दिन मन्त्रालय तयार रहेको तर यसका लागि सही कागजात र विवरण पेस गर्नुपर्ने बताए । ‘कोभिडका वेला ड्युटी नगरेकाको पनि नाम लिस्ट पठाएको भन्ने बुझिएको छ, सबैलाई त्यसै भत्ता दिने होइन, जो–जो ड्युटीमा हुनुहुन्थ्यो, सबैको यथेष्ट विवरण आउनुपर्‍यो,’ उनले भने, ‘त्यहाँको प्रशासनले प्रमाणित गरेर बायोमेट्रिकसहित पठाउँछ भने सो भक्ता वा पाउनुपर्ने सुविधा मन्त्रालयले दिन्छ ।’