नेप्से पाँच अंकले घट्दा साढे २१ अर्बभन्दा बढीको कारोबार

 आर्थिक खबर     २०८१, १७ श्रावण बिहीबार १७:०८     67 जनाले पढ़िसके



Spread the love

साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा करेक्सन देखिएको छ। बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर दुई हजार ७५५.६२ विन्दुमा रोकिएको छ । सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि एक प्रतिशतभन्दा कमले गिरावट भएको छ।

आज ३३२ कम्पनीका पाँच करोड १३ लाख २१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यसअघि बुधबार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबराबरको सेयर कारोबार हुँदै रेकर्ड बनाएको थियो ।

बिहीबार बजार घट्दा ७४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। त्यसमध्ये पाँचवटा कम्पनीको मूल्यमा सर्किट लागेर १० प्रतिशतले बढेका छन्। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटेल र कुथेली बुखारी स्मल हाइड्रोको सेयरमा सर्किट लागेको हो।

१६४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.१३ प्रतिशतले गुमाएका छन्। प्रभु बैंक डिबेन्चर, रसुवागढी हाइड्रोपावर, अपर सोलु र मन्दाकिनी हाइड्रोको मूल्यमा ८.६६ प्रतिशतदेखि ६.५५ प्रतिशतसम्म गिरावट भएको छ।

समूहगत आधारमा नेप्सेका १३ समूहमध्ये ६ वटा समूहको सूचक बढ्दा बाँकी समूहको सूचक ओरालो लागेको छ। बिमा समूह सर्वाधिक ३.६९ प्रतिशत र लगानी समूह २.७४ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा धेरै ३.५४ प्रतिशतले घटेको छ।