काठमाडौँ — बुधबार सेयर बजारमा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एकै दिनमा यति धेरै रकम कारोबार भएको हालसम्मकै उच्च हो । तीन वर्षअघि ०७८ साउन ३१ मा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अहिले त्यो रेकर्ड पनि तोडेर कारोबार रकम नयाँ उचाइमा पुगेको हो ।
पछिल्लो एक महिनामा सेयर बजारमा लगानीकर्ता उत्साहित देखिएका छन् । सोही कारण पछिल्लो तीस दिन ९यही असार १७ देखि साउन १६ सम्म० नेप्से परिसूचक करिब ३५ प्रतिशतले बढेको छ । गत असार १७ मा २ हजार ५३ मा रहेको नेप्से बुधबारसम्म २ हजार ७ सय ६० विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढिरहेको छ, जसअनुसार बुधबार हालसम्मकै सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको हो ।
बजारमा खरिद र बिक्री दुवैमा लगानीकर्ताको रुचि बढेकाले कारोबार रकमले नयाँ रेकर्ड बनाउन सकेको एक स्टक ब्रोकरले बताए । ‘बुधबारको बजार निकै संयमित थियो, सामान्य अवस्थामा बजार अघि बढीरहेको थियो । बजारप्रतिको विश्वासकै कारण लगानीकर्ताले धेरै रकमको सेयर कारोबार गरेका हुन,’ ती अधिकारीले भने, ‘आफ्नै गतिमा केही घट्दै, लगत्तै त्योभन्दा केही बढ्दै गरेर अघि बढेको बजार दिगो मानिन्छ । बुधबार पनि बजारमा त्यस्तै प्रवृत्ति देखिएको थियो ।’
नेप्से स्थापना भएको करिब ३१ वर्ष पुगिसकेको छ । यस अवधिमा तीन दिन मात्र २१ अर्ब रुपैयाँभन्दा बढी रकमको सेयर किनबेच भएको छ । बुधबार ९साउन १६० करिब २२ अर्ब, ०७८ भदौ २ मा २१ अर्ब ३१ करोड ३४ लाख र ०७८ साउन ३१ मा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसैगरी, यही साउन १४ मा १९ अर्ब ६० करोड ९१ लाख र ०७८ भदौ ३ मा २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उल्लिखित पाँच दिनमा सेयर बजारको इतिहासमा सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको थियो ।
बुधबार समग्र नेप्से परिसूचक ६४।२७ अंकले बढेको छ । कारोबारमा आएकामध्ये १३ वटा उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । अघिल्लो दिनको तुलनामा यो २।३८ प्रतिशतले बढेको हो । उक्त दिन कुल ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबेच भएको थियो । कारोबारमा आएकामध्ये १ सय ९१ कम्पनीको सेयर मूल्य बढ्यो, ४४ वटाको घट्यो र बाँकी ७ कम्पनीको मूल्य स्थिर रह्यो । उक्त दिन १४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेपछि सर्किट ब्रेक लागेको छ ।