आज नेप्से इन्डेक्स र शेयर कारोबार दुवै घट्यो

 आर्थिक खबर     ९ फाल्गुन २०८०, बुधबार १७:०४     54 जनाले पढ़िसके



Spread the love
काठमाडौं– बुधबार शेयर बजार कारोबार र सूचक दुवै घटेको छ। बजार सूचक ६.४६ अङ्कले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ।
१५९ कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। उत्पादनमूलक बाहेकका सबै उपमूहले नेप्से घटाएका छन्। उत्पादनमूलकको सूचक भने २.८४ प्रतिशतले बढेको छ।

घटेको बजारमा पनि बोटलर्स नेपालमा दुवै कम्पनी, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको शेयर मूल्य भने सर्किटस्तरमा बढेको छ। बोटलर्स बालाजुको शेयर प्रति कित्ता १२ हजार ३ सय ९३ रुपैयाँ पुगेको छ भने बोटलर्स तराईको शेयर प्रति कित्ता १३ हजार १ सय ९४ रुपैयाँमा किनबेच भएको छ। समाज लघुवित्तको १ हजार ९ सय ७८ पुगेको छ। यस्तै हिमालय ऊर्जाको कित्ताको ३ सय ३५ रुपैयाँ भएको छ।

अघिल्लो दिनका तुलनामा शेयर कारोबार ८७ करोडले कम भएको छ। बुधबार ६३ लाख ४१ हजार १ सय ७४ कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ। कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। हिमालयनको १ लाख ७३ हजार ५ सय ३७ कित्ता शेयर ११ करोड १२ लाखमा कारोबार भएको छ। शेयर मूल्य ६ सय ३३ रुपैयाँ २० पैसा प्रति कित्ता रहेको नेपाल स्टक एक्सचेन्ज जनाएको छ।

यस्तै एनआईसी एसिया बैंकको ६ करोड २६ लाख, पिपुल्स हाइड्रोपावर कम्पनीको ६ करोड र सगरमाथा जलविद्युतको ५ करोड ८६ लाखको शेयर किनबेच भएको छ ।