देशको आर्थिक अवस्था चरम संकटको अवस्थामा छैन, निर्माण व्यवसायीलाई दसैंअघि नै भुक्तानी : अर्थमन्त्री

 आर्थिक खबर     २०८०, १९ आश्विन शुक्रबार १५:००     95 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैंअघि नै प्रदान गरिने बताएका छन्।

चितवनमा पुगेका उनले त्यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैं अगाडि नै भुक्तानी हुने बताएका हुन्।

‘असार मसान्तसम्ममा ६० देखि ७० अर्ब तिरिसकेका छौं। अब ६ देखि ७ अर्ब जति बाँकी होला, त्यो भुक्तानी हुन्छ,’ उनले भने।

यस्तै, महतले बाहिर आएजस्तो देशमा आर्थिक संकट चरम अवस्थामा नभएको बताए। केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक संकट नभएको उनको भनाइ थियो।

पहिला बैंकहरुले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ।

‘सहजरुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो। त्यसको असर अहिले देखियो’, उनले भने, ‘अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन। जसका कारण केही व्यवसायीलाई समस्या परेको छ।’

सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो। फोटो : फाइल