शेयर बजारलाई स्वस्थ बनाउन आवश्यक छ : अर्थमन्त्री डा महत

 काँग्रेस     १५ आश्विन २०८०, सोमबार १४:०५     49 जनाले पढ़िसके



Spread the love

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् । ‘विश्व लगानीकर्ता सप्ताह’ को आज यहाँ उद्घाटन गर्दै उनले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए ।

“अहिले नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ । यसबारे चाँडै कुनै निर्णय आउला भन्ने अपेक्षा गरेको छु”, अर्थमन्त्री महतले भने, “शेयर बजारलाई स्वस्थ बनाउन जरुरी छ । बेलाबेला भित्री कारोबार (इन्साइडर ट्रेडिङ) का कुरा पनि सुनिने गरेका छन् । यसलाई धितोपत्र बोर्डले निर्णायक हिसाबले नियमनको दायराभित्र ल्याउनुपर्छ ।”

उनले आम लगानीकर्ताको हित हुनेगरी नियामकीय भूमिका निर्वाह गर्न र पुँजी बजारबारे जानकारी तथा साक्षरता बढाउन पनि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायलाई निर्देशन दिए । नयाँ धितोपत्र दलाल लाइसेन्स दिएपछि पुँजीबजार प्रतिस्पर्धी बन्दै गएको र एकाधिकारको अवस्था अन्त्य भएको उनको भनाइ छ । यसलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि अर्थमन्त्री महतले बताए ।

शेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

शेयर बजारको उतारचढावका बेला निश्चित व्यक्तिले नाफा लिने र सर्वसाधारणले गुमाउने भएकाले पुँजीबजारको कारोबारबारे सर्वसाधारणलाई बढी जानकारी दिनुपर्ने आवश्यकता उनले औँल्याए । फोटो : फाइल