साउनमा राजस्व असुलीमा थोरै सुधार

 आर्थिक खबर     १ भाद्र २०८०, शुक्रबार १४:०३     61 जनाले पढ़िसके



Spread the love

लगातार ह्रास आएको राजस्वमा सामान्य सुधार देखिएको छ। साउन महिनामा आन्तरिक र बाह्य दुबै प्रकारको राजस्व बढेको हो।

भन्सार विभाग मातहत उठ्ने राजस्व र आन्तरिक राजस्व विभाग मातहत उठ्ने राजस्वमा करिब दुई प्रतिशतको वृद्धिदर देखिएको छ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिनादेखि नै २० प्रतिशतले न्यून हुँदै आएको महिनागत भन्सार राजस्वमा साउमा सुधार आएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए।

‘भन्सार राजस्व लगातार घटिरहेको सन्दर्भमा साउनमा सामान्य करेक्सन देखिएको छ, तर लक्ष्य अनुसार भने अझै उठ्न सकेको छैन,’ खड्काले भने।

भन्सार विभागले साउन महिनाको लागि ३९ अर्ब ७१ करोड राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो।

साउन मसान्तसम्म भन्सार विभागले ३२ अर्ब ६६ करोड राजस्व उठाएको छ।

यो गत वर्षको तुलनामा २.१९ प्रतिशतको सुधार देखिएको हो। लक्ष्यको तुलनामा करिब १९ प्रतिशत न्यून राजस्व उठेको छ।

त्यसोत, गत साउनमा २०७८÷७९ को तुलनामा राजस्व २२ प्रतिशतले कमी आएको थियो।

आधार राजस्व नै कम भएको कारणले पनि भन्सार राजस्व केही बढेको देखिएको छ।

वीरगञ्ज भन्सार कार्यलयमा प्रमुख प्रशासक डिलाराम पन्थीकाअनुसार भन्सार राजस्वमा कर परिवर्तनको असर देखिएको हो। ‘आयात खास बढ्न सकेको छैन भ्याटमा गरिएको परिवर्तनको असर भने देखिएको छ,’ उनले भने।

गत वर्ष साउनदेखि लगातार घटेको भन्सार राजस्वमा यो वर्ष वृद्धिदर देखिएको हो।

गत जेठ महिनादेखि सुधार भएको आन्तरिक राजस्वमा भने साउनमा पनि सामान्य सुधार देखिएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार साउन महिनामा ४० अर्ब ५० करोड रूपैयाँ राजस्व उठको छ।

आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ३९ अर्ब ८६ करोड राजस्व उठेको थियो। यस हिसाबले आन्तरिक राजस्वमा १.६ प्रतिशतको वृद्धिदर देखिएको छ।

आन्तरिक राजस्वमा भने कारोबारमा नै आएको वृद्धिदरको प्रभाव भएको महानिर्देशक मैनालीले बताए।

‘आन्तरिक राजस्वमा कर परिवर्तनको राजस्वको प्रभाव त्रैमासपछि देखिन्छ, हामीले दिइएका स्किमहरूको प्रभाव पनि अन्तिम मितिमा देखिने भएको कारण अहिलेको सामान्य सुधार कारोबारकै कारण भएको हो,’ मैनालीले बताए।

उनले अब क्रमशः मनोविज्ञानमा सुधार आउने र यसको प्रभाव राजस्वमा देखिने बताए।

‘घर जग्गाको कित्ताकाट खुलेको छ, आन्तरिक राजस्वमा मूल्य अभिवृद्धि करमा सुधार आएको छ,’ मैनालीले भने।

साउन महिनाको लागि आन्तरिक राजस्व विभागले ४९ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। साउन महिनामा लक्ष्यको १८ प्रतिशत न्यून राजस्व उठेको छ।