सुपारी आयात रोक्न संसदीय समितिको सरकारलाई निर्देशन

 संवाददाता    २०७८, २४ चैत्र बिहीबार ०८:२९     145 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले सुपारीको आयात रोक्न सरकारलाई निर्देशन दिएको छ । तेस्रो मुलुकबाट सुपारी आयात गरी भारत तस्करी भइरहेको र त्यसबाट विदेशी मुद्रासमेत बाहिरिइरहेको भन्दै समितिले तत्काललाई सुपारी आयातको सिफारिस र अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

समितिले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरू अर्जुनप्रसाद पोखरेल र डा. गणेशप्रसाद पाण्डेयलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । मुलुकमा विदेशी विनिमय सञ्चिति कम भएको समयमा सुपारी ल्याउन नहुने समितिका सभापति विमल श्रीवास्तवले बताए । ‘वर्तमान परिस्थितिमा सुपारी आयात आवश्यक छैन, यो अत्यावश्यक वस्तु पनि होइन’ उनले भने, ‘अहिले सुपारी आयात गरिरहेका उद्योगले के–कति खपत गरे ? केमा उपयोग गरे भनेर हामी स्थलगत अनुगमन गर्दै र्छौँ, त्यसको प्रतिवेदन नआउन्जेल सुपारी आयातका लागि सिफारिस अनुमति नदिनुस् ।’ समितिले आवश्यक परे लिखित निर्देशनसमेत दिने भन्दै अहिलेलाई सुपारी आयात रोक्न मन्त्रालय र विभागलाई निर्देशन दिएका हुन् ।सांसद प्रकाश रसाइली स्नेहीले तेस्रो मुलुकबाट ल्याएर भारतमा निकासी गर्ने प्रवृत्ति भइरहेको भन्दै त्यसलाई रोक्न सचिवहरूको ध्यानाकर्षण गराए । ‘सुपारीलगायत कतिपय वस्तु सरकारबाट वैधानिक रूपमा अनुमति लिएर अवैध रूपमा भारतमा तस्कर भइरहेको छ’ उनले भने, ‘देशमा साधारण खर्चसमेत समस्या भइरहेको अवस्थामा सुपारीमा विदेशी मुद्रा बाहिर नपठाऔँ, सुपारी आयात रोकौँ ।’