मन्त्रालय खारेजीको बहस व्यर्थ र औचित्यहीन छ : मन्त्री दाहाल

 संवाददाता    २०८१, २७ माघ आईतवार १३:५८     53 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधार मन्त्रालय नै खारेज गर्ने विषयको बहस व्यर्थ र औचित्यहीन रहेको बताएका छन् ।

केही दिन अघि अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलले मन्त्रालय खारेजीका तर्क सहित सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

सोही सन्दर्भमा मन्त्री दाहालले समेत फेसबुक मार्फत नै मन्त्रालय खारेजीको विषयको खण्डन सहित आफ्नो धारणा सार्वजनिक गरेका हुन् । विज्ञ मानिएका व्यक्ति मार्फत नै यस प्रकारको धारणा आउँदा आफू तीन छक्क परेको मन्त्री दाहालले उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय देशको विकास खर्चको एक तिहाइ भन्दा बढी काम हुने मन्त्रालय भएको उल्लेख गर्दै उनले योजना आयोग जस्तो स्थानमा बसिसकेको मान्छेले देशको विकासलाई कमजोर बनाउने प्रस्ताव कसरी ल्याउनु भयो होला ? भनेर प्रश्न पनि गरे ।

मन्त्रालय मार्फत ३ वटा विभाग (सडक रेल र यातायात व्यवस्था विभागहरू) र एउटा पानी जहाज कार्यालय रहेको स्मरण गराउँदै मन्त्री दाहालले रेल अन्तर्गत जनकपुर जयनगर हुँदै बर्दिवास सम्मको काम भइरहेको बताए । यसलाई हाललाई निजगढ सम्म जोड्ने लक्ष्य रहेको उनले उल्लेख गरे । पूर्व पश्चिम रेल मार्ग लगायत दुई विशाल छिमेकी मुलुक जोड्ने अन्य रेल मार्गहरूको पनि अध्ययनको अन्तिम अवस्थामा पुगेको उनले बताए ।

कुल बजेटको झन्डै ९० प्रतिशत रकम विनियोजन भएको सडक विभाग अन्तर्गत ८० वटा राष्ट्रिय राजमार्ग लगायत हजारौँ स्थानीय सडक सञ्जालको काम भइरहेको मन्त्री दाहालले जनाएका छन् ।