सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच खटपट हुन थालेको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिन्ता व्यक्त गरेका छन्।
खासगरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएपछि सरकार र सत्ताधारी रास्वपाबिच तालमेल नमिलिरहेको कुरा सतहमा देखिएको छ।
यही कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हठात् आईजीपीबाट हटाउँदै प्रधानमन्त्री शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाएको छ भने अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजीपी नियुक्त गरेको छ।
तर लगत्तै सत्तारूढ रास्वपाले यसमा आफ्नो संलग्नता नभएको प्रतिक्रिया दियो भने बिहीबार चितवनमा पार्टी सभापति रवि लामिछानेले यस विषयमा सरकारले औचित्य पुष्टि गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनी र बालेनबिच बेमेल रहेको अनुमान गरिएको छ।
जुन शुभसंकेत नभएको टिप्पणी पूर्वप्रधानमन्त्री भट्टराईले गरेका हुन्।
‘नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबिचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रकोनिम्ति शुभसंकेत होइन शुक्रबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्मरण रहोस्, २००७ सालपछि कांग्रेसमा बीपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूहबिचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ।’
उनले चेतावनी दिँदै अगाडि लेखेका छन्, ‘भनाइ पनि छ – History repeats because men repeat their mistakes. (इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्। जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस्। बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्।’