निर्दलीय पञ्चायतकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधन भएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान पशुपतिस्थित आर्यघाटमा पुगेर पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका छन्।
९१ वर्षीया पोखरेलको भक्तपुरको लोकन्थलीस्थित निवासमा बिहीबार साँझ निधन भएको हो।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतले पनि आर्यघाटमै पुगेर पोखरेललाई श्रद्धाञ्जली दिएका छन्।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहेकी पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता आर्यघाट पुगेका थिए।
पञ्चायकालमा भूमिगत जीवन विताउँदा अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतलाई उनले आश्रय दिएकी थिइन्।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्व पोखरेलका दुई छोरा र दुई छोरी छन्।