काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् ।
नेपालका परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री आएका हुन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हो ।
विदेश सचिव मिस्रीले विमानस्थलबाट भारतीय दूतावास लैनचौर पुगेका छन् । त्यसपछि उनी २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र त्यसपछि ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्न जाने कार्यक्रम छ । उनले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आइतबार बेलुकी परराष्ट्र सचिव लम्सालले समकक्षी मिस्रीलाई रात्रीभोज दिने छिन् । सोमबार ११ बजे परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि बेलुकी नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।