देशभर मनसुन फैलिन अझै ५/७ दिन लाग्ने, पश्चिम तराईमा तातो हावा अझै केही दिन रहने

 #आजको मौसम     २०८१, १ असार शुक्रबार ०९:०८     68 जनाले पढ़िसके



Spread the love

मनसुनी प्रणाली पाँच–सात दिनमै देशभर फैलिएर वर्षा हुनुपर्ने हो । तर, संखुवासभा, ताप्लेजुङ क्षेत्रबाटै कोशीको पश्चिमी क्षेत्रसम्म मनसुन पुग्न चार दिन लागेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘कोशीबाहेकका क्षेत्रमा पश्चिम उत्तरबाट हावा चलिरहेको छ, यो हावाले पूर्वी दक्षिणबाट पश्चिम बहने हावालाई छेकिरहेको छ ।’

मधेश र बागमती क्षेत्रमा एक–दुई दिनमा मनसुन फैलिन सक्ने देखिए पनि पश्चिमसम्मका लागि भने अझै कुर्नुपर्ने देखिन्छ । स्थानीय वायुको प्रभाव पनि कास्कीलगायत क्षेत्रमा केन्द्रित भएकाले मुलुकका अन्य क्षेत्रको तापक्रम लगातार उच्च छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा दुई सातादेखि तातो हावा चलिरहेको छ । ती क्षेत्रमा आगामी आइतबारसम्म तातो हावाको लहर कायमै रहने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ । यसमा पनि रुपन्देहीदेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा चलिरहेको तातो हावा कायमै छ । त्यस क्षेत्रका उपत्यकामा पनि तापक्रम उच्च छ । बिहीबार नेपालगन्जमा अधिकतम तापक्रम ४३.८ र न्यूनतम तापक्रम २८ डिग्री

सेल्सियस मापन भएको छ । त्यसैगरी, धनगढीमा ४३.१, दिपायलमा ४१.३, वीरेन्द्रनगरमा ४०.१, घोराहीमा ३८.८ र भैरहवामा ४०.४ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको तापक्रम पनि ३४.३ डिग्री सेल्सियस मापन भएको छ ।