शे–फोक्सुण्डोबाट उद्धार गरिएका ६ भारतीय पर्यटकको स्वास्थ्य अवस्था सामान्य

 संवाददाता    २०८३, १७ कार्तिक सोमबार १३:५६     12 जनाले पढ़िसके



Spread the love

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका सबैलाई जिल्ला अस्पताल दुनैमा सामान्य उपचार गरिएको थियो। अहिले सबै डिस्चार्ज भएका छन्।

कात्तिक १४ गते गते शे-फोक्सुण्डो गाउँपालिका –८ मा ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण फसेको जानकारी प्राप्त भएपछि डोल्पामा जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रकृया तथा समन्वय गरिएको थियो।

उद्धारका लागि १५ गते सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आउने भनिए पनि प्राविधिक समस्याका कारण उडान हुन नसक्दा उद्धारमा ढिलाई भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरसँग समेत समन्वय गरिएको थियो। तर, त्यसमा पनि प्राविधिक समस्या देखिएपछि उद्धार हुन सकेको थिएन्।

सोमबार बिहान ७ बजे पोखराबाट आएको सिम्रिक एयरको हेलिकप्टर सुरुमा डोल्पाको दुनैमा अवतरण भएको थियो। उक्त हेलिकप्टर बिहान ७ः३५ बजे उद्धारका लागि शे–फोक्सुण्डो गाउँपालिका–५ दानिगढमा टेकअप भएको थियो।

त्यसपछि बिहान ९ २५ बजे ६ जना भारतीय नागरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ।

यी हुन् उद्धार गरिएका भारतीय पर्यटक

१.भारत पश्चिम बङगाल हाउदा घर भएकी वर्ष ३४ की प्याली कोली,
२.भारत साउथ २४ पि.जि.एस.घर भएकी वर्ष ३५ की मोमिता हल्दार,
३.भारत साउथ २४ पि.जि. एस घर भएकी वर्ष २४ दिपलिना विश्वास,
४.भारत आन्द्र प्रदेश करपा घर भएको वर्ष २८ जजला त्रिवेत कुमार,
५.भारत साउथ २४ पि.जि.एस घर भएको वर्ष ३२ राजेश देव,
६.भारत नर्थ २४ पि.जि. एस घर भएको वर्ष ३२ को आदित्य सिंह रहेका छन् ।