एमाले कोशी प्रदेश अधिवेशन– मतदान सकियो, मतगणना सोमबार नै सक्ने तयारी

 एमाले कोशी प्रदेश     १५ आश्विन २०८०, सोमबार ०८:५६     55 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेकपा एमाले कोशी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सोमबार सकिएको छ। आइतबार राति १० बजदेखि सुरु भएको मतदान सोमबार बिहान ५ बजे सकिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए।

अधिवेशनमा ९९७ प्रतिनिधि रहेकामा ९७७ जनाले मतदान गरेका जनाइएको छ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितका पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ। पदाधिकारीसहित ११६ पदका लागि निर्वाचन भएको हो।

अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन्। उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन्।

सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार छन्। २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ। खोटाङका देवान राई, मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उपसचिवको उम्मेदवार छन्।

निर्वाचन समितिले सोमबार नै मतगणना सक्ने तयारी गरिएको जनाएको छ।