कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने गठबन्धनको निर्णय

 कोशी प्रदेश     १३ आश्विन २०८०, शनिबार १०:०९     48 जनाले पढ़िसके



Spread the love

मोरङ — कोशी प्रदेशमा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वमा बनेको अल्पमतको सरकारलाई विश्वासको मत नदिने गठबन्धन दलले निर्णय गरेको छ । कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार बन्ने भएको छ ।

गठबन्धन दल कांग्रेसको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको अल्पमतको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । ‘बहुमत सांसदको समर्थन रहेको गठबन्धन दल सरकारबाहिर छ,’ कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले भने, ‘अल्पमतमा रहेको एमालेका नेता कार्कीले परमादेशका आधारमा सरकारको नेतृत्व गरिरहेकाले विश्वासको मत नदिने निर्णय गरेका छौं ।’

कार्कीले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा (५) अनुसार गठबन्धन दलको नेतृत्वमा गठित सरकारले प्रदेशमा राजनीतिक स्थायित्व प्रदान गर्ने उनको दाबी छ ।

गठबन्धन दल माओवादीका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका नेता पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धन दलले कुनै पनि हालतमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने बताए । अहिलेको अल्पमतको सरकारले विश्वासको मत नपाएपछि उपधारा (५) अनुसार बन्ने गठबन्धन दलको सरकारले राजनीतिक स्थिरता कायम गरेर प्रदेशमा विकास र समृद्धिको अभियान अघि बढाउने उनीहरूले बताए ।

गठबन्धन दलको निर्णय आएसँगै राप्रपा पनि नरम देखिएको छ । ‘उपधारा (५) अनुसार गठबन्धन दलले सरकार गठन गर्नुअगाडि राप्रपाले छलफल गरेर सहमति गर्छ,’ राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले भने, ‘गठबन्धन दलको अवस्था हेरेर सहमति गरेर प्रदेशमा राजनीतिक स्थायित्व प्रदान गर्छौं किनकि अहिले मध्यावधि चुनाव कसैले चाहेको छैन । त्यसैले उपधारा (५) अनुसार सरकार बनाउनेलाई आवश्यकताको आधारमा समर्थन गर्छौं ।’ उनले गठबन्धन दलसँग छलफल भएपछि राजनीतिक सहमतिका साथै सरकारमा कुनै हैसियतमा सहभागी हुने विषय टुंगिने बताए ।

अध्यक्ष राजेन्द्रकुमार लिङ्देनलगायतका नेताहरूको निर्वाचन क्षेत्र आउँदो निर्वाचनमा सुरक्षित गर्ने, केन्द्रीय सरकारमा हिस्सा लिने विषयमा छलफल भइरहेको राप्रपाका एक नेताले बताए । ‘प्रदेश सरकारमा मुख्यमन्त्रीमा दाबी गर्ने, सभामुख र दुई जना मन्त्री लिने विभिन्न विकल्पमा छलफल चलिरहेको छ,’ उनले भने ।

कांग्रेस पनि कोशीमा स्थिर सरकार निर्माणका लागि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा सदस्यमा पठाएर लिङ्देनको निर्वाचन क्षेत्र सुरक्षित गर्ने दाउमा देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई व्यवस्थापनको तयारी गरेपछि कांग्रेस नेता शेखर कोइरालाले सभापतिलाई न्यायसंगत रूपमा पार्टी सञ्चालन गर्न दबाब बढाइरहेका छन् । निर्वाचनमा पराजित भएका व्यक्तिलाई राष्ट्रिय सभामा प्रतिनिधित्व नगराउने पार्टीको नीतिविपरीत सिटौलालाई व्यवस्थापन गर्न खोजेकाले कोइरालाले सभापति देउवाको विरोध गर्न थालेको कांग्रेसका एक नेताको भनाइ छ ।

सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० भित्र उक्त धाराको उपधारा (४) बमोजिम विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० सांसदको मात्रै मुख्यमन्त्री कार्कीलाई समर्थन रहेको र प्रदेशसभाको निर्वाचनदेखि सहकार्य गर्दै आएका ६ जना सांसद भएको राप्रपाले एमाले नेतृत्वको सरकारलाई समर्थन नभएको भन्दै साथ छोडिसकेको छ । गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ गरी ४७ सांसद छन् ।

गठबन्धन दलले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेसँगै असोज २० पछि संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उक्त धाराको उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसके वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने संवैधानिक व्यवस्था छ ।

पार्टीको प्रदेश अधिवेशन उद्घाटनका लागि शुक्रबार विराटनगर आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा पत्रकारको प्रश्नमा कोशीमा स्थिरता आवश्यक रहेको बताए । ‘प्रादेशिक हिसाबमा पनि अहिले मध्यावधिमा जानु हुँदैन, त्यो अवस्था छैन,’ उनले भने, ‘प्रदेशलाई मध्यावधितर्फ धकेल्ने कुरा बुद्धिमानीपूर्ण हुँदैन र धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’ आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।