विराटनगर । कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । माओवादी केन्द्रको आज बस्ने प्रदेश पार्टी पदाधिकारीको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने एक नेताले जानकारी दिए । दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बैठक आज बस्ने तय भएको छ । उक्त बैठकले निर्णय गरे लगत्तै राजीनामा दिने तयारीमा मन्त्रीहरू छन् ।
यसअघि सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता आङ्बोको नेतृत्वमै वैकल्पिक सरकार गठन गर्न भन्दै पहल समिति गठन गरेको थियो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट आएलगत्तै प्रदेश संसदीय दलका नेतालगायतलाई कांग्रेसँगको सहकार्यमा विश्वासको सङ्कट आउन सक्ने भन्दै तत्काल सरकारबाट निर्णय गर्न निर्देशन दिएका थिए ।