प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिराहा-४बाट निर्वाचित सांसद महतोलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् । प्रचण्डले उपप्रधान मन्त्रीसहित सरकारमा आफैं सहभागी हुन उपेन्द्रलाई आग्रह गरेका थिए ।
तर, यादवले भने स्वच्छाले सरकारमा नगएको नेताहरूलाई बताएका छन् । यादव सोमवार संसदीय दलको नेत बनेका थिए । ‘अध्यक्षज्यूको चाहना शहरी विकास या अर्को कुनै महत्वपूर्ण मन्त्रालय पाए सरकारमा सहभागी हुने भन्ने थियो’ जसपाका एक केन्द्रीय सदस्यले भने, ‘भर्खरै उपनिर्वाचन जितेर आएकोमा तात्तातै सरकारमा सहभागी हुँदा सत्ताभोगीको आरोप लाग्छ भन्ने पनि उहाँको निष्कर्ष होला ।’
केही समयपछि पार्टीले पाएको मन्त्रालय फेरबदल भएमा उपेन्द्र सरकारमा सहभागी हुने सम्भावना रहेको जसपा स्रोतले बतायो । विगतमा परराष्ट्र, स्वास्थ्य, कानूनलगायत मन्त्रालय सम्हालेका यादवले महत्वपूर्ण मन्त्रालय पाउनु पर्ने दाबी गरेका थिए ।
मन्त्रीका आकाक्षी राजकिशोर यादवलाई पाखा लगाउँदै उपेन्द्रले महतोलाई अवसर दिएका हुन् । जसपाबाट यसअघि अशोक राई शिक्षामन्त्री बनिसकेका छन् ।
पछिल्लो विस्तारसँगै प्रधामनन्त्री प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । आजसम्म वन तथा वातावरण मन्त्रालय प्रचण्ड आफैले राखेका थिए ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ५ महिनामा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।