वैद्य भन्छन नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गर्यौं

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, २३ कार्तिक बुधबार २०:११     86 जनाले पढ़िसके



Spread the love

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताएका छन् । बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका हुन् । उनले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताए । उनले नयाँ क्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताए ।

उनले भने, ‘यो सत्ताका बिरुद्ध, संसदीय व्यवस्थाका बिरुद्ध र यी दलहरुले जुन विचारधारका कुरा गर्छन्, त्यसका बिरुद्ध संघर्ष गर्दै नेपालमा नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवाद ल्याउन जरुरी छ । त्यहाँ नपुगिकन समस्याको हल हुनेवाला छैन । त्यसकारणले अर्को कुरा के हो भने अब हामीले नयाँ क्रान्तिको तयारी गर्नुपर्छ । तर नयाँ क्रान्तिको तयारी गर्नको निम्ति सत्ता क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध भएर जान जरुरी छ । संगठनलाई बलियो बनाउने, क्रान्तिकारीहरु एकतावद्ध हुने, यो पुरानो संसदीय व्यवस्थाका बिरुद्ध र नयाँ जनवादी, वैज्ञानिक समाजवादी संसदीय व्यवस्थाको स्थापनाको निम्ति दृढतापूर्वक अगाडी बढ्न जरुरी छ । र हाम्रो यो बहिस्कार आन्दोलन, हाम्रो यो अवज्ञा आन्दोलन त्यही दिशामा एउटा महत्वपूर्ण कदम हो । हाम्रो यो वहिष्कारको गन्तव्य के हो भन्दाखेरी नयाँ क्रान्तिको तयारीको विषयमा अगाडी बढ्ने हो ।’
महासचिव वैद्यले राज्यका तीन वटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको बताए ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले मंसिर ४ गतेको निर्वाचन खारेज गरेर स्वाधिन स्वयुक्त सरकार बनाउनुपर्ने बताए ।