काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ । काठमाडौं बाहिरका अन्य केही स्थानमा पनि हल्का पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
आज दिउँसोपछि पनि पानी पर्ने सम्भावना रहेको छ । आज बाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने अनुमान छ । अन्य प्रदेशका पहाडी जिल्लामा पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने अनुमान छ ।
बिहीबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।