काठमाडौं : नेकपा एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत भएका छन्। आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा श्रेष्ठसहित प्रेमबहादुर तामाङ र झम्क कडेंलले पनि उम्मेदवारी दर्ता गराएका थिए। तर आइबार दिउँसो तामाङ र कडेंलले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत अध्यक्ष बनेका हुन्। अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यमा भने आइतबार निर्वाचन भएको छ।
निर्वाचन समितिका अनुसार एमाले रामेछापको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया, उप–सचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल निर्वाचित भएका छन्। सोमबार बिहान पदाधिकारीको मतगणना सकिएको हो।
सातौं जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका श्रेष्ठ नेकपा विभाजनका बेला अध्यक्ष शान्ति पौडेल प्रचण्ड–माधव समूहमा लागेपछि अध्यक्षको कार्यभार समालेका थिए। तर अदालतले एमाले र माओवादी छुट्याएपछि एमालेभित्र १० बुँदे सहमति भएर शान्ति पौडेल अध्यक्षमा पुनर्वहाली भएपछि पुन : श्रेष्ठले सचिवको कार्यभार सम्मालेका थिए।
आठौं अधिवेशनमा सचिवमा निर्वाचित कडेरियाले नेकपा विभाजनका समयमा एमाले सचिव बनेर पार्टी सञ्चालन गरिसकेका छन्। १० बुँदे सहमति भएपछि सचिवको जिम्मेवारी श्रेष्ठले पुन : सम्मालेपछि कडेरिया बाहिरिएका थिए।
उप–सचिवमा निर्वाचित भएका कार्कीले सातौं अधिवेशनबाट प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएपछि सशक्त भूमिका खेलेका थिए। एमालेको भातृसंगठन अनेरास्ववियूको प्रारम्भिक कमिटी हुँदै पार्टी राजनीतिमा सक्रिय कार्की २०६९ सालदेखि हालसम्म जिल्ला सचिवालय सदस्य र प्रचार विभाग प्रमुखको रुपमा रहेका छन्। उनले एमालेलाई थप उचाईमा पुर्याउन कार्यकर्ताले थप जिम्मेवारी दिएकाले सशक्त रुपमा अगाडि बढ्ने बताए।
दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा, विभिन्न विभाग र जनवर्गीय सङ्गठनबाट गरी ८१४ जना मतदाता रहेका छन्। सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।