कक्रोच जनता पार्टी (सीजेपी)का प्रमुख नेताहरू रिहा भएपछि उक्त संगठनले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सीधा प्रहार गरेको छ ।
पत्रकार सम्मेलनमा आशुतोष रांका, सौरभ दास र रत्ना सिंह सहभागी थिए । सीजेपी प्रमुख अभिजित दीपके भने हजुरआमाको निधनका कारण आफ्नो पुर्ख्यौली गाउँ फर्किएकाले पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।
पत्रकार सम्मेलनमा आशुतोष रांकाले प्रधानमन्त्री मोदीको आलोचना गर्दै भने, ‘नरेन्द्र मोदी भारतको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कायर प्रधानमन्त्री हुन् ।’
त्यस्तै, सौरभ दासले नीरव मोदी र विजय माल्यालाई देशबाहिर जान दिइएको आरोप लगाउँदै आफूहरूलाई भने विमानभित्रैबाट उठाइएको बताए ।
‘यो त्यस्तो सरकार हो, जसले नीरव मोदी र विजय माल्यालाई विमानमा चढाएर देशबाहिर पठायो, जबकि हामीलाई विमानभित्रैबाट उठाएर लगियो,’ उनले भने ।
शनिबार आफूहरूलाई हिरासतमा लिइएको घटनाबारे बोल्दै सीजेपी नेताहरूले केन्द्र सरकारमाथि कानुनी प्रक्रिया पूरा नगरी आफूहरूलाई नियन्त्रणमा लिएको आरोप लगाए ।
‘हामीलाई अपहरण गर्दा कुनै कागजी प्रक्रिया पूरा गरिएको थिएन । माफिया डनको शैलीमा प्रहरी आयो र हामीलाई उठाएर लग्यो । हाम्रा फोन जबर्जस्ती खोसिए । महिला प्रहरीमार्फत फोन लिइएको थियो, तर त्यसका लागि कुनै कानुनी प्रक्रिया अपनाइएन,’ दासले भने ।
उनका अनुसार आफूलाई आरके पुरममा राखिएको थियो भने आशुतोष रांकालाई बल्लभगढ लगिएको थियो । अभिजित दीपकेलाई पनि अन्यत्र लगिएको उनले बताए ।
दासले आफूहरूले नियन्त्रणमा लिइँदा वकिलसँग कुराकानी गर्न पाउनु आफ्नो आधारभूत अधिकार भएको भन्दै प्रहरीसँग आग्रह गरेको बताए । तर, हिरासतमा लिइएका बेला त्यस्तो अधिकार नहुने जवाफ आफूहरूले पाएको उनको दाबी छ ।
‘हिरासतमा लिँदा हामीलाई आफ्ना वकिलसँग कुरा गर्न पाउनु आधारभूत अधिकार हो भन्यौँ । तर, हिरासतमा हुँदा कुनै अधिकार हुँदैन भनियो । दिल्ली प्रहरीले प्रदर्शनकारीमाथि कस्तो बर्बरता गर्ला भन्ने यसबाट अनुमान गर्न सकिन्छ,’ उनले भने ।
दासले आफ्ना मोबाइल फोनमा के गरिएको छ भन्नेबारे समेत आशंका व्यक्त गरे । फोनको प्रतिलिपि तयार पारिएको हुन सक्ने आशंका गर्दै उनले त्यसलाई पछि प्रमाणका रूपमा प्रस्तुत गर्न सकिने बताए ।
‘हाम्रा फोनमा के–के गरिएको होला भन्ने हामीलाई आशंका छ । फोनको क्लोन बनाइएको हुन सक्छ । भोलि हाम्रा फोनको क्लोन बनाएर त्यसलाई प्रमाणका रूपमा प्रस्तुत गरिने हो कि भन्ने डर छ,’ उनले भने ।