अस्ट्रेलियामा रहेका नेपालीलाई प्रधानमन्त्री अल्बानिजको दशैँ शुभकामना

 संवाददाता    २०८३, २५ आश्विन आईतवार १२:४३     12 जनाले पढ़िसके



Spread the love

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्ट्रेलियाली नेपाली समुदायलाई दशैँको शुभकामना दिएका छन्।

त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार उनले दशैँ मनाउने तयारीमा रहेका परिवार, साथी र समुदायलाई शुभकामना दिएका हुन्।

‘म सबै अस्ट्रेलियाली नेपाली समुदायलाई दशैँको शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘दशैँ तपाईंहरुको अन्तर्पुस्तागत रुपमा चलिआएको र मानिआएको पर्व हो।’

यसपालि यहाँ र संसारका अन्य ठाउँमा रहेका नेपाली समुदायका लागि दशैँ गहिरो दुःखसँगै आएको र असामान्य अवस्था रहेको पनि उनले उल्लेख गरेका छन्।

खासगरी भोटेकोशी बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिलाई स्मरण उनले गरेका छन्। ‘बाढीपछिको ठूलो जनधनको क्षतिको भार तपाईंहरु एक्लैले बोक्नुपर्नेछैन। हामी तपाईंहरुसँगै उभिएर आगामी दिनमा पुनरुत्थान र पुनर्निर्माणमा सँगै काम गर्छौँ’, उनले भनेका छन्।

बाढीपछि अस्ट्रेलियाली नेपाली समुदायले राहत तथा सहयोगका लागि देखाएको तत्परताको उनले प्रशंसा गरेका छन्।

‘यो दशैँले उल्लास, शक्ति र आशीर्वादको समय ल्याओस् र असत्यमाथि सत्यको विजयको भावना हामीमा ल्याइराखोस्’, उनले शुभकामनामा भनेका छन्।