राप्रपा महाधिवेशनको तयारी अघि बढ्यो, प्रतिनिधि छनोटमा युवा अनिवार्य

 संवाददाता    २०८३, २५ आश्विन आईतवार १२:५९     17 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोट गर्दा कम्तीमा एकजना ४० वर्षमुनिका युवा अनिवार्य समावेश गर्न मातहतको समितिलाई निर्देशन दिएको छ।

निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङले ७७ जिल्ला अध्यक्षलाई परिपत्र गर्दै प्रतिनिधि चयन गर्दा युवाको सहभागिता सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।

केन्द्रीय निर्वाचन समितिले विधान तथा निर्वाचन निर्देशिकामा रहेको उक्त व्यवस्था अनिवार्य रूपमा लागू गर्न जिल्ला तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिलाई पत्राचार गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले भने, ‘हामीले महाधिवेशनको तयारी तीव्र बनाएका छौँ। अहिलेसम्म पार्टीका ७४ जिल्ला र पाँच प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन्। प्राविधिक कारणले रोकिएका प्रदेश तथा बाढी प्रभावित जिल्लाका बाँकी अधिवेशनसमेत यथाशीघ्र सम्पन्न हुँदैछ ।’

राप्रपाको मधेश र बागमती प्रदेश र रसुवा, नुवाकोट र धादिङको जिला अधिवेशन हुन बाँकी छ । अब पार्टी सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने चरणमा प्रवेश गर्ने श्रेष्ठले बताए ।

विधान तथा निर्वाचन निर्देशिकाअनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट समानुपातिक समावेशिताका आधारमा नौजना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।

जसअनुसार तीनजना महिला, एकजना उत्पीडित समुदायबाट र दुईजना आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम वा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने गरी छनोट गरिनेछ ।

निर्वाचन निर्देशिकामा महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनेमध्ये कम्तीमा एकजना महिला वा पुरुष ४० वर्षमुनिको युवा हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।