मणिपुरमा फेरि अशान्ति, नेपालीसहित थप ९ जनाको ज्यान गयो

 संवाददाता    २०८३, २५ आश्विन आईतवार १२:४२     34 जनाले पढ़िसके



Spread the love

भारतको उत्तरपूर्वी राज्य मणिपुरका पहाडी जिल्लामा फेरि हिंसा भड्किएको छ।

नयाँ हिंसामा कम्तीमा नौ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एक दर्जनभन्दा बढी घरमा आगजनी गरिएको छ।

हिंसा शुक्रबार राति एक कुकी महिलाको गोली हानी हत्या भएपछि सुरु भएको थियो।

शुक्रबार राति कामजोङ जिल्लाको चासद गाउँमा सशस्त्र समूह र सुरक्षा बलबिच गोली हानाहान भएको थियो, जसमा परी ४२ वर्षीया कुकी महिला डोमखोनी तोथाङको मृत्यु भएको हो।

एक स्थानीय प्रहरी अधिकारीले भने, ‘मणिपुर प्रहरी, इन्डिया रिजर्भ बटालियन र बीएसएफको संयुक्त टोलीले चासद गाउँमा अवैध बंकर हटाउन अभियान सञ्चालन गरिरहेको थियो। स्थानीय महिलाले उक्त अभियानमा अवरोध पुर्‍याउने प्रयास गरे र अज्ञात आक्रमणकारीले सुरक्षा टोलीमाथि गोली चलाए, जसले गर्दा सुरक्षा बल जवाफी कारबाही गर्न बाध्य भए।’

यस घटनापछि क्षेत्रमा तनाव बढ्यो र केही अज्ञात व्यक्तिले गाउँका धेरै घरमा आगजनी गरे। कुकी नागरिक समाज र कुकी महिला संघका कार्यकर्ताले घटनाको विरोध गरेका छन्।

यसैबिच शनिबार बिहान चासाद गाउँमा अर्को कुकी व्यक्तिको हत्या भएपछि हिंसा पुन: भड्किएको छ।

अज्ञात आक्रमणकारीले चासाद प्रहरी चौकीमा आगो लगाउने प्रयास गरेको पनि बताइएको छ।

कामजोङ जिल्ला मजिस्ट्रेटले प्रहरी चौकीको ४०० मिटरको दायराभित्र प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ।

कामजोङ जिल्लामा भएको एउटा छुट्टै घटनामा शनिबार बिहान निङ्चु गाउँका दुई नागा गाउँ रक्षकको हत्या भएको बताइएको छ। मृतकहरूमा ३६ वर्षीय न्गाचान्सो निङ्शेन र ४८ वर्षीय लेशिशान हाङयो छन्।

ताङ्खुल नागा संगठनले भारत-म्यानमार सीमामा रहेको पिलर १०२ नजिकै आक्रमण भएको बताएको छ।

यसअघि शनिबार बिहान ५ बजेतिर माकुई गाउँमा कुकी सशस्त्र समूहले गरेको आक्रमणमा तीन नागा गाउँ रक्षकको मृत्यु भएको थियो।काङ्पोक्पी जिल्लाको तपोन गाउँमा शनिबार बिहान भएको अर्को आक्रमणमा एक स्वयंसेवकको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ।

मृतक थालोन गाउँका निवासी माचुङवाङबो (३५) हुन्। शनिबार साँझ अबेरसम्म धेरै क्षेत्रमा गोलाबारी जारी रह्यो।

अर्को घटनामा सेनापति जिल्लाको तापोउ सेनापति नेपाली गाउँका ३० वर्षीय सन्दीप राईलाई शनिबार बिहान उखरुल जिल्लाको कोन्जाङ गाउँनजिकै अज्ञात आक्रमणकारीले गोली हानी हत्या गरेका छन्।

फेब्रुअरी ७ मा उखरुल जिल्लामा कुकी र नागा युवाबिच भएको झडप व्यापक हिंसामा परिणत भएको हो।

बितेका आठ महिनादेखि कुकी र ताङ्खुल नागाबिच जारी हिंसामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

यसैबिबच मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शनिबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी छलफल गरेका छन्।

बैठकपछि मुख्यमन्त्री खेमचन्द सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई भेट्नु सौभाग्यको कुरा हो। उनको दूरदर्शी नेतृत्वले विकसित भारतको भागको रूपमा शान्तिपूर्ण, समृद्ध र विकसित मणिपुर निर्माण गर्ने हाम्रो संकल्पलाई प्रेरित गरिरहेको छ।’