बुढीगण्डकी नदीमा बाढी आउनुअघि भूकम्पको जस्तो कम्पन आएको गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताएका छन् ।
बुढीगण्डकीको बाढी सुरु भएको स्थान चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ जहाँ बुढीगण्डकीको मुहान पर्दछ ।
अध्यक्ष लामाका अनुसार बिहान ४ बजेर २५ मिनेट हुँदा चुनचेक गाउँ नजिक रहेको उन्जुलुङ खोलामा ठूलो भूकम्पको जस्तो धक्का आएर सुख्खा पहिरो खसेको थियो ।
उनले कुराकानीमा उन्जुलुङ खोलामाथिबाट खसेको पहिरोले बुढीगण्डकी स्यारखोला थुनिएको बताए । त्यसपछि आएको बाढीले तलतिर क्षति पुर्याएको उनले बताए ।
बुढीगण्डकी स्यारखोला थुनिएको खबर पाँच बज्नुभन्दा अलि अगाडि मलाई आएको थियो,
उनले भने, – ‘खबर आएपछि स्थानीय प्रशासन, सुरक्षाकर्मी, स्थानीय मान्छेहरुलाई खबर गरेर सुरक्षित स्थानमा जान भनेका कारण मान्छेका ज्यान बच्यो ।’
बुढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिकाको मात्रै ३ वटा झोलुङ्गे पुल बगाएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने सल्लेरी, जगतको बगर, घट्टेखोला लगायतका स्थानमा घर तथा बस्ती बगाएर क्षति पुर्याएको छ ।
तर, मानवीय क्षति भने नभएको अध्यक्ष लामाले जानकारी दिए ।