आइतबार बिहान बुढीगण्डकीमा आएको बाढीले चार जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।
बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका चार वटा जलविद्युत आयोजनाका भौतिक पूर्वाधार, पहुँच मार्ग, पुल तथा निर्माण उपकरणहरू बगाएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार टाइम्स इनर्जी प्रा.लि. प्रवर्द्धक रहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ । यस आयोजनामा कार्यरत १२ कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाढीले दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजना पनि बाढीको चपेटामा परेको छ । बाढीका कारण उक्त आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरहरूमा क्षति पुग्नुका साथै जोड्ने बेलिब्रिजसमेत बगाएको छ ।
बुढीगण्डकीको बाढीले ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत आयोजनामा पनि असर पुर्याएको छ । यारु हाइड्रो पावर प्रा.लि. प्रवर्द्धक रहेको यस आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणहरू बाढीले बगाएर लगेको छ ।
त्यस्तै, वाटर इनर्जी डेभलपमेन्ट प्रा.लि. प्रवर्द्धक रहेको १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । बाढीका कारण आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ ।