रसुवा जिल्लास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा अझै ४ सय ३९ जना सम्पर्कविहीन रहेको प्रवर्द्धक कम्पनीले जनाएको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्र्जी डेभलपमेन्ट कम्पनी प्रालिका अनुसार हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको, ७८ जना सम्पर्कमा आएको र ३९ जना मृत भेटिएका छन्।
बाढी आएको समयमा आयोजनामा प्रवर्द्धक कम्पनीसँगै परामर्शदाता ट्रयाक्टावेल तथा जेड कन्सल्ट, इन्जिनियरिङ, खरिद तथा निर्माण कार्यको निर्माण व्यवसायी कोरियन कम्पनी डुसान र उसबाट नियुक्त सिभिलतर्फको सब–कन्ट्रयाक्टर पावर चाइना तथा इलेक्ट्रोमेकानिकलतर्फको एन्ड्रिज हाइड्रोलगायतका कम्पनीका नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका नागरिकसमेत गरी करिब १४३३ जना कार्यरत थिए।
कार्यरत स्वदेशी तथा विदेशी नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको जनाएको छ। विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, प्राविधिक विशेषज्ञ, उद्धार टोली तथा सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गर्दै खोजी तथा उद्धार कार्यका लागि कम्पनीकातर्फबाट आवश्यक सम्पूर्ण स्रोतसाधन परिचालन गरिएको छ। आयोजनाको बाँधस्थलबाट मुख्य सुरुङतर्फ बाढीले ट्रक नै पल्टाएको फेला परेको छ।
बाढीबाट अत्यन्त प्रभावित आयोजनामा बाढी आएको समयदेखि नै साइट कार्यालय तथा निर्माणस्थलमा कार्यरत व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ र आयोजनाको टोलीको सहभागितामा संयुक्त खोजी तथा उद्धार कार्य सञ्चालन हुँदै आइरहेको छ। भूमिगत संरचनाभित्र फसेका सम्भावित व्यक्तिहरूको खोजीकासाथै बाहिरी सतह, भीर, गाउँ तथा अन्य सम्भावित क्षेत्रमा समेत सुरक्षा निकाय र सम्बन्धित टोलीसँगको समन्वयमा खोजी कार्य निरन्तर जारी छ ।
खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त खोजी कुकुरसहितको टोली, पर्वतारोही उद्धार टोली तथा अन्य दक्ष जनशक्ति परिचालन गरिएको छ। आयोजनाका सुरुङहरु, भूमिगत विद्युतगृह तथा अन्य भौतिक संरचनामा कार्यरत व्यक्तिहरू फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भग्नावशेष तथा लेदो हटाउने, सम्भावित खोजी क्षेत्र पहिचान गर्ने र उद्धार कार्यलाई सहज बनाउने कार्य निरन्तर छ।
अत्यन्त विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, आयोजनास्थलसम्म पुग्ने सडक तथा यातायातको कठिनाइ, आवास तथा अन्य आधारभूत सुविधाको अभाव, भूमिगत संरचनाभित्रको जोखिम र थप पहिरोको सम्भावनालगायतका चुनौतीका बाबजुद संयुक्त टोलीबाट खोजी तथा उद्धार कार्य निरन्तर सञ्चालन भइरहेका छन् । खोज तथा उद्धार टोलीलाई आवश्यक सम्पूर्ण स्रोतसाधन कम्पनीले उपलब्ध गराएको छ।
यसरी हुँदै छ खोजी र उद्धार
कम्पनीका अनुसार आयोजनास्थलसम्म पुग्ने सडक बाढीले पूर्ण रुपमा क्षति पुर्याएकाले हेलिकोप्टरमार्फत दुईवटा मिनी एस्काभेटर ढुवानी गरी उत्खनन, खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको छ।
त्यसैगरी सुरुङभित्र जमेको भग्नावशेष हटाउने तथा फलामका रड काट्न आवश्यक पर्ने विद्युत्का लागि जेनेरेटर र ग्यास–कटिङ उपकरण हेलिकोप्टरमार्फत आयोजनास्थलमा ढुवानी गरी परिचालन गरिएको छ भने आयोजनाको मुख्य सुरुङ निर्माणका लागि बनाइएको पहुँच सुरुङ (अडिट)–३ को माथिल्लो तटीय क्षेत्रमा जमेको लेदो तथा भग्नावशेष एक्साभेटरको प्रयोग गरी हटाउने कार्य भइरहेको छ।
खोजी तथा उद्धार कार्यका लागि आवश्यक एक्साभेटर, मिनी एक्साभेटरलगायतका उपकरणहरू हेलिकोप्टरमार्फत ढुवानी गरी आयोजनास्थलमा परिचालन गरिएको कम्पनीले जनाएको छ। तालिमप्राप्त कुकुरसहित खोजी टोली परिचालन गरी सम्भावित स्थानमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिएको । उक्त टोलीको आवतजावतका लागि आवश्यक हेलिकोप्टर उडान अनुमति लिइएको, मैलुङस्थित आयोजनाको साइट कार्यालय तथा कर्मचारी आवास क्षेत्र (क्याम्प) मा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउने र जमेको पानी निकास गर्ने कार्य भइरहेको, प्राविधिक टोलीमार्फत आयोजनाको भूमिगत विद्युतगृह, मुख्य प्रवेश सुरुङ, बाँधस्थल तथा अन्य सम्बन्धित संरचनाको अवस्था निरीक्षण र मूल्याङ्कन गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ।
खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरण, प्राविधिक सहयोग र अन्य स्रोतसाधनको आफ्नै खर्चमा कम्पनीले परिचालन गरिरहेको छ भने आयोजनास्थलबाट निकालिएका शवहरु नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोट जिल्लाको विदुरस्थित नेपाली सेनाको क्याम्प ल्याइएको हुँदा मृतकका परिवार एवम् आफन्तजनलाई शवको सनाखतका लागि आवश्यक सम्पर्क, समन्वय र सहजीकरण कार्य भइरहेको कम्पनीले जनाएको छ।
यस्तै मृतकका परिवारलाई आफ्नो संस्कृति रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न सहयोग पुग्ने गरी प्रारम्भिक राहतस्वरूप काजक्रिया खर्च उपलब्ध गराइरहेको पनि कम्पनीले उल्लेख गरेको छ।
परिवारसँग नियमित सम्पर्क तथा सूचना समन्वय
सम्पर्कविहीन व्यक्तिका परिवारजनसँग नियमित सम्पर्क कायम राख्दै आएको कम्पनीले जनाएको छ।
परिवारबाट प्राप्त सूचना, सकुशल उद्धार गरिएका कर्मचारीबाट प्राप्त विवरण तथा अन्य विश्वसनीय स्रोतबाट प्राप्त जानकारीका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी खोजी तथा उद्धारमा परिचालित टोलीलाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
‘यस कठिन परिस्थितिमा प्रभावित परिवारजनलाई आवश्यक जानकारी उपलब्ध गराउने, परामर्श प्रदान गर्ने तथा सम्भव भएसम्म मनोसामाजिक सहयोग उपलब्ध गराउने प्रयाससमेत निरन्तर भइरहेको छ । खोजी तथा उद्धार कार्यको प्रगति र प्राप्त सूचनाबारे परिवारजनसँग नियमित सम्पर्क र समन्वय कायम राखिएको छ’, कम्पनीले भनेको छ।
सरकारी निकायसँग निरन्तर समन्वय
त्यसैगरी खोजी तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारले गठन गरेको वार रुम बैठक, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, विद्युत विकासलगायतका निकायमा कम्पनीका तर्फबाट नियमित सहभागिता जनाउँदै आयोजनाको अवस्था, खोजी तथा उद्धार कार्यको प्रगति, देखिएका चुनौती तथा आवश्यकताबारे जानकारी गराउँदै आइएको छ।
कम्पनीबाट सरकारी निकाय, सुरक्षा संगठन, प्राविधिक विशेषज्ञ, उद्धार टोली तथा अन्य सहयोगी पक्षसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ।
‘कम्पनीका तर्फबाट खोजी तथा उद्धार कार्यमा संलग्न सम्पूर्ण सरकारी निकाय, सुरक्षा निकाय, प्राविधिक विशेषज्ञ, उद्धार टोली, स्थानीय समुदाय तथा सहयोगी पक्षप्रति हार्दिक आभार व्यक्त गर्दछ। उपलब्ध सबै स्रोत, साधन, प्रविधि तथा जनशक्तिको अधिकतम परिचालन गर्दै सम्बन्धित सरकारी निकाय र सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै उपाय अवलम्बन गर्दै कम्पनी निरन्तर प्रयासरत रहेको छ।’