चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
ट्राफिक प्रहरी कार्यालय, लहानले सांसद गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ५ सय रुपैयाँ जरिवाना तिराएको हो। जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उहाँलाई जरिवाना रसिद हस्तान्तरण गरेको छ।
यसअघि सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि नेपाल प्रेससँग कुराकानीमा सांसद गुप्ताले आफ्नो व्यवहारप्रति क्षमायाचना गर्दै कानुनी कारबाही स्वीकार गर्ने बताएका थिए।
सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। अहिले ट्राफिक प्रहरीले कानुनअनुसार जरिवाना गरेर कारबाही प्रक्रिया पूरा गरेको जनाएको छ।