राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण एक सुत्केरी महिलाले अस्पताल परिसरबाहिर सडकमा बच्चा जन्माउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजविराज १४, प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडामा अस्पताल पुगेको र अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेको दाबी गरे।
परिवारसँग २५ सय रुपैयाँ मात्र रहेकाले ७ सय रुपैयाँ अपुग भएपछि अस्पताल प्रशासनले उपचारमा आनाकानी गरेको र अन्ततः ती महिलाले अस्पतालको गेटबाहिरै शिशुलाई जन्म दिनुपरेको बताए।
उनले भने, ‘गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र भए पनि यस्ता घटनाले स्वास्थ्य प्रणालीमै गम्भीर कमजोरी रहेको देखाएको छ। एउटा महिला पैसाको अभावका कारण अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनुपर्ने अवस्था आएको छ। हामी स्वास्थ्यमा ठूला–ठूला कुरा गरेर बसिरहेका छौँ।’
उक्त घटनाले सप्तरीका गरिब, पीडित तथा दलित महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्थासमेत उजागर गरेको भन्दै स्वास्थ्य मन्त्रीको जवाफ मागे।