इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कादेरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहुन्जेल हर्मुज स्ट्रेट खुला नगरिने दाबी गरेका छन्।
इरानी समाचार एजेन्सीहरूद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जोल्कादेरले भनेका छन्, ‘इरानले आक्रामक शत्रुको शक्ति तोड्ने र अहंकारी शक्तिहरूको ढाड भाँच्ने निर्णय गरेको छ।’
उनले डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सत्ताबाट नहटाइएसम्म हर्मुज जलमार्ग नखोलिने दाबी गरेका छन्।
उनले भनेका छन्, ‘यो इरानको जवाफी कारबाहीको पहिलो चरण हो।’
बीबीसी फारसीका अनुसार ट्रम्पले युद्ध वा इरानसँग वार्ताबारे बारम्बार विरोधाभासी अभिव्यक्ति दिइरहेका बेला अमेरिकासँग सैन्य टकराव गर्ने वा वार्ताको बाटो अपनाउने भन्नेबारे इरानभित्र मतभेद गहिरिँदै गइरहेको छ।
इरानका केही शीर्ष राजनीतिक नेताले अमेरिकालाई इस्लामाबाद सम्झौता लागु गर्न र यसलाई युद्ध अन्त्य गर्ने सर्तका रूपमा मान्यता दिन आग्रह गरिरहेका छन्। यी नेतामा राष्ट्रपति मसुद पेजेस्कियान र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफ पनि हुन्।
अर्कातर्फ आईआरजीसीका सैनिक र कमान्डरलगायत कट्टरपन्थीले अमेरिका र इजरायलविरुद्ध अझ प्रभावकारी लडाइँ जारी राख्न र हर्मुज स्ट्रेट बन्द राख्न आह्वान गरिरहेका छन्।
यसैबिच बढ्दो महँगी, आर्थिक प्रतिबन्ध र इरानका दक्षिणी बन्दरगाहमा नौसेना नाकाबन्दीले देशका नागरिकको दैनिक जीवनलाई अझ कठिन बनाएको छ।
अन्तर्राष्ट्रिय मुद्राको तुलनामा इरानी रियालको अवमूल्यनले जनताको आर्थिक कठिनाइ अझ बढाएको छ।