पुनर्गठन प्रतिवेदन केन्द्रीय कमिटीमा पेस नगर्ने ओलीको अडान

 संवाददाता    २०८३, ५ आश्विन सोमबार १२:३३     12 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी समीक्षा र पार्टी पुनर्गठनका विषयमा अध्ययन गर्न बनाएको कार्यदलले पेश गरेको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा लैजान अस्वीकार गरेका छन्।

सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका एजेन्डासमेत नबनाएको एक पदाधिकारीले जानकारी दिए।

आइतबार बसेको कार्यदलको बैठकले प्रदीप ज्ञवालीले लेखेको २९ पृष्ठको प्रतिवेदनलाई परिमार्जन गरेर सचिवालय बैठकमा पेश गरेको थियो। तर, ओलीले त्यसमा तल्ला तहबाट आएको सुझावलाई अनुसूचिमा समेट्न मानेका थिएनन्।

तर, केही पदाधिकारीले भनेपछि उनी प्रतिवेदन बुझ्न तयार भए। अनि सोमबार बस्ने गरी बैठक स्थगित भएको थियो।

सोमबार बिहान १० बजेतिर बसेको सचिवालय बैठकमा ओलीले प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकमा लैजान तयार नभएपछि कुनै निर्णयमा नपुगी बैठक सकिएको छ।

‘सचिवालयले केही निर्णय गर्न सकेन। हिजो सचिवालयमा पेश भएको प्रतिवेदन पनि केन्द्रीय कमिटीमा लैजान अध्यक्ष तयार हुनुभएन,’ एक पदाधिकारीले भने, ‘अब यहाँ केन्द्रीय कमिटीमा के वातावरण बन्छ, अनि मात्र थाहा हुन्छ। अहिले त यहाँ केही स्थिति नै बनेन।’

कार्यदलका सदस्यसमेत रहेका अर्का पदाधिकारीले पनि सचिवालय बैठकमा केही निर्णय नभएको बताए। ‘केन्द्रीय कमिटी बैठकको एजेन्डा पनि आएन,’ उनले भने, ‘अब अध्यक्षलाई जे लाग्या छ, त्यही केन्द्रीय कमिटी बैठकमा एजेन्डा बनाएर ल्याउनुहुन्छ होला।’

एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको झम्सिलेखमा सुरु हुँदै छ। सचिवालय बैठकबिना निश्कर्ष भएपछि अध्यक्ष ओलीसहितका सचिवालय सदस्य पुगिसकेका छन्।