हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ। त्यसैगरि भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत नेपालको मौसममा परेको छ।
जसको प्रभावस्वरुप यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधरणतया बदली छ।
देशका बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यताया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आज दिउँसो पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरि कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमत रहेको महाशाखाले जनाएको छ।
मेघगर्जन र चट्याङसहित हुनसक्ने वर्षा तथा हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा आग्रह गरेको छ।
हेर्नुहाेस् ३ दिनको मौसम पूर्वानुमान


