मनाङको नार्फाभूमिको उच्च हिमाली क्षेत्रमा गएको हिम पहिरोमा परेर हराइरहेकाहरूको खोजी कार्य जटिल बनेको छ। चार जनाको शव भेटिएको हिमपहिरोमा अझै १२ जना हराइरहेका छन्।
नार्फाभूमि गाउँपालिका-५ हिमलुङ क्षेत्र (करिब ५२ सय मिटर उचाइ)मा आइतबार हिमपहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो।
हिमपहिरोपछि अझै १२ जना बेपत्ता रहेका मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनीहरू हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।
उच्च हिमाली क्षेत्रमा ठूलो हिमपहिरो गएकाले खोज तथा उद्धार कार्य जटिल बनेको पौडेलले बताए।
हिमपहिरोपछि खोजतलासको क्रमममा आइतबार दुई र सोमबार दुई जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ।
हिमपहिरोमा परेर ज्यान गुमाउने वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको हो।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आज घटनास्थलमा उद्धार तथा खोजीका कुनै कार्यक्रम नरहेको बताए।
‘आज घटनास्थलमा खोज तथा उद्धारको कुनै कार्यक्रम छैन। त्यहाँको भौगोलिक अवस्था र घटनाको प्रकृति हेर्दा उद्धार कार्य नै कठिन बनेको जानकारी उद्धार कर्मीले गराएका छन्’ घिमिरेले भने, ‘हिजो उद्धार कर्मीले हिउँमा ८ फिटसम्म खन्दा पनि केही भेटेनछन्। उहाँहरूले नै अब हिउँ नपग्लिएसम्म खोजी गर्न सम्भव छैन भन्नु भएको छ।’
हिजो दुई जनाको शव घटनास्थलबाट खनेर निकालिएको उनले बताए।
‘उद्धार कर्मीहरू अहिले पनि घटनास्थल नजिकै हुनुहुन्छ,’ सहायक प्रजिअ घिमिरेले भने, ‘तर, अब त्यहाँ गएर फेरि खन्न सकिन्न भन्दै हुनुहुन्छ। त्यहाँ अर्को हिमपहिरोको पनि डर छ। यस विषयमा माथिबाटै केही निर्णय होला कि?’
हिम पहिरोमा बेपत्ताहरूको उद्धार र खोजकर्ता कम्पनी आफैँले गरेको हो।
‘यहाँ अहिले स्थानीय प्रशासनले केही गर्न सक्ने अवस्था छैन। हामीले समन्वय गर्ने मात्रै हो,’ घिमिरेले भने, ‘उच्च हिमालमा खोजी गर्न सक्ने उद्धार कर्ताले हिजो र अस्ती बेपत्ताको खोजी गरेका हुन्। त्यहाँ अहिले हाम्रा सुरक्षाकर्मी जानसक्ने अवस्था नै छैन। हेलीमा सुरक्षाकर्मी गएर अहिले केही काम पनि छैन। तालिम प्राप्त जनशक्तिले नै खोज्ने हो। उहाँहरू नै नसकिने भैयो भन्दै हुनुहुन्छ।’
काठमाडौँका दुईवटा टुरिस्ट कम्पनीबाट त्यहाँ वेसक्याम्प निर्माणका लागि गएका २७ जना नेपाली कामदार हिमपहिरोमा परेका हुन्।
त्यसमध्ये हिमपहिरोपछि ११ जना सकुशल फर्किएका छन्। बाँकी १२ जनाको अवस्था भने अझै अज्ञात छ।