१२ फागुन २०८१।
कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
आफूसहित परिवार असुरक्षित भएको भन्दै कमेडियन श्रेष्ठले साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत यस बारे जानकारी दिंदै उनले “रिदय ताम्राकार” नामक फेसबुक ह्याण्डलबाट आफूलाई धम्की दिनुका साथै दिदीहरूलाई समेत बलात्कारसम्मको धम्की दिएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गर्दै उनले दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न माग समेत गरेका छन् ।
फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको उनको आरोप छ ।
गतसाता सजनसहित कमेडियनहरू उत्सव सापकोटा र सुजन जिम्बा र पडकास्ट चलाउने सुशान्त प्रधान लगायतविरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो ।
यो विवादमा सजनले भिडियोबाट माफी मागिसकेका छन् । तर पनि उनलाई धम्की आइरहेकाे छ ।