बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खानलाई भारतको विदेशी क्षेत्रीय दर्ता कार्यालयले नोटिस जारी गर्दै अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिएको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भएर विदेशी नागरिकसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप इमरानमाथि लगाइएको छ ।
यो घटना अक्टोबर १० मा सार्वजनिक भएको थियो । त्यस दिन इमरान अगस्त क्रान्ति मैदानमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए । सोही क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसपछि भारतीय जनता पार्टी (भाजपा)का नेता किरीट सोमैयाले इमरान अमेरिकी नागरिक भएको र उनले विदेशी नागरिकसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लगाएका थिए । सोमैयाले यस विषयमा उजुरीसमेत दिएका थिए ।
प्रहरीका अनुसार गामदेवी प्रहरी कार्यालयमा इमरानले विदेशी नागरिकसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपसहित उजुरी परेको थियो । त्यसपछि उक्त उजुरी विदेशी क्षेत्रीय दर्ता कार्यालयमा पठाइएको थियो ।
नाम सार्वजनिक नगर्ने सर्तमा एक प्रहरी अधिकारीले नोटिसमा इमरानलाई अमेरिकी नागरिक उल्लेख गर्दै अध्यागमन तथा विदेशी नागरिकसम्बन्धी कानुनका धारा ७ र २९ उल्लङ्घन गरेको आरोप लगाइएको बताएको बीबीसीले लेखेको छ ।
सोही आधारमा उनलाई तोकिएको समयसीमाभित्र भारत छाड्न निर्देशन दिइएको ती अधिकारीले जानकारी दिए ।