रास्वपा सांसद तोसिमा कार्कीको रिटमा सर्वोच्चले निर्णय सुनाउने

 संवाददाता    २०८१, ४ फाल्गुन आईतवार १३:३२     95 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले दिएको रिटमा सर्वोच्च अदालतले आइतबार निर्णय सुनाउने भएको छ।

सांसद कार्कीले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरलाई विपक्षी बनाएर २०७९ कात्तिक १४ गते दिएको रिटको निर्णय सुनाउन पेसी तोकिएको हो।

न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आइतबार निर्णय सुनाउने गरी पेसी तोकिएको हो।

ललितपुर क्षेत्र नम्बर ३बाट निर्वाचन लड्न लाग्दा निर्वाचन आयोगमा कार्कीविरूद्ध उजुरी परेको थियो।

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य भई लाभ लिइरहेका कार्कीले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो। उक्त पद सार्वजनिक पद हो वा होइन भन्ने विषयमा पनि प्रश्न उठेको थियो।

 

 

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दिएकी थिइन्। उक्त रिटमा सर्वोच्च अदालतका न्‍यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गरेको थियो।

त्यस्तै २०७९ कात्तिक २८ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो।

उक्त आदेशपछि निर्वाचन लडेर कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद पद जितेकी थिइन्।