जलनमा परेका विष्णु र धनराजलाई भेटेपछि चन्द्र भण्डारीले सम्झिए आफ्नो विगत

 संवाददाता    २०८१, ४ फाल्गुन आईतवार ११:०३     75 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पोखरामा हिजो आगलागीमा परेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई अस्पतालमै पुगेर भेटेका छन् ।

कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार गराइरहेका पौडेल र आचार्यलाई भेट्न नेता भण्डारी हिजो नै अस्पताल पुगेका थिए । उनले चिकित्सकहरूसँग घटनाका बारेमा बुझ्दा खतरामुक्त रहेको थाहा पाएपछि केही राहत महशुस भएको बताएका छन् ।

नेता भण्डारीले आफ्नो परिवारमा भएको जलनको घटना स्मरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

पोखरामा पर्यटन वर्ष उद्घाटनका सिलसिलामा बेलुनमा आगलागी भएर पौडेल र आचार्यको अनुहार, टाउको, हात लगायतका विभिन्न अङ्गमा चोट लागेकै दिन फागुन ३ गते दुई वर्ष अगाडि आफ्नो घरमा जलनको घटना भएको उनले स्मरण गरे l

उनले सामाजिक सञ्जाल फेसबुकमा जीवन, आगो र पुनर्जन्म शीर्षकमा भावुक स्ट्याटस समेत लेखेका छन् । स्ट्याटसमा लेखिएको छ-‘ दुई वर्षअघि आजकै दिन, आगोको क्रूर लप्काले मेरी आमालाई चीर निद्रामा लग्यो। त्यो क्षणले मात्र शरीर जलाएको थिएन, आत्मा नै भस्म भएको महसुस गराएको थियो। म आफैँ पनि जलेँ—शारीरिक रूपमा, भावनात्मक रूपमा।’

नेता भण्डारी थप लेख्छन्– ‘समय एक अचम्मको उपचार रहेछ। जलेका घाउहरू बिस्तारै निको हुँदै छन्, म फेरि बाँच्न सिक्दै छु। तर आजैको दिन, जलनकै कारण माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौड्यालज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यू अस्वस्थ हुनु भएको खबरले मन फेरि भारी बनाएको छ। प्राडा शंकर राई र डा। किरण नकर्मीसँग तत्काल कीर्तिपुर अस्पताल पुगेर उहाँहरूको अवस्थाबारे जानकारी लिँदा, डाक्टर शावहरूले उहाँहरू खतरामुक्त हुनु भएको खबर दिनु भयो। यसले केही राहत महसुस गराएको छ।’