काठमाडौं । गौतम बुद्धले निर्वाण प्राप्त गरेको सम्झनामा आज बिहान काठमाडौंको बसन्तपुरमा शोभायात्रा गरिएको छ ।
निर्वाण प्राप्त अर्थात मृत्यु घोषणा गर्नुभन्दा तीन महिना अघि नै बुद्धले माघपूर्णिमा अर्थात सिल्लापुन्हि’ का दिन आफ्नो निर्वाण प्राप्त गर्ने मिति बताएका थिए । भगवान बुद्धले आफूले निर्वाण प्राप्त गर्ने दिन घोषणा गरेको दिनलाई समस्त बौद्ध जगतले आयु संस्कार परित्यागको दिन मानी उत्सवको रुपमा मनाउँदै आएका छन् ।
भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएर गाडीमा विराजमान गराई शोभायात्रा बसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजा सहित शोभायात्रा गरी नगर परिक्रमा गरिएको हो । सिल्लापुन्हिका दिन हरेक वर्ष भगवान बुद्धको आयु संस्कार परित्याग दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ । सोभायात्रामा सहभागीहरुले अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो भन्ने बुद्ध वाणीलाई अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए ।
शोभायात्रामा काठमाडौंका विभिन वौद्ध विहारका बज्राचार्य, शाक्य गूरूहरू तथा उपासक–उपासिकाहरुका साथै समाजका विभिन्न समूदायको सहभागिता रहेको थियो । शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण दिवसको त्रिसंयोग परेको दिन वैशाख पूर्णिमालाई विश्वका समस्त बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीको रूपमा विश्वभर मनाइन्छ ।
गौतम बुद्धले ८० वर्षको उमेरमा बैशाख शुक्ल पूर्णिमाकै दिन सहज मृत्युवरण अर्थात् महापरिनिर्वाण प्राप्त गरेका थिए ।