काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् ।
राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहको कार्यक्रममा उनले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे ।
उनले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरु लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको बताए ।
उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको जनाए ।
यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेटमा पुगेर सहिदप्रति सम्मान प्रकट गरेका थिए । नेपाल सरकार (मन्त्रिपरिषद्) को मङ्गलबारको बैठकले यस दिवसलाई राष्ट्रियस्तरमा मनाउने निर्णय गरेको थियो ।