सिमेन्टको मूल्य बढेको विषयमा लेखा समितिले उद्योग मन्त्रीसँग जबाफ माग्ने

 संवाददाता    २०८१, ८ माघ मंगलवार १६:००     72 जनाले पढ़िसके



Spread the love

निर्माण सामग्री (सिमेन्ट) को मूल्य अत्यधिक बढेको भन्दै सार्वजनिक लेखा समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको जबाफ मागेको छ।

समितिले बुधबार ११ बजे यस सवालमा जबाफ दिनको लागि मन्त्री भण्डारीलाई बोलाउने निर्णय गरेको हो।

पछिल्लो केही महिनादेखि सिमेन्टको मूल्य अत्यधिक बढेको भन्दै निर्माण व्यवसायीहरूले गुनासो गरेका छन्। उनीहरूले बढेको मूल्य फिर्ता नभएमा आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन्।

डेढ महिना अघि उद्योग मन्त्रालयकै रोहबरमा सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीच छलफल गरेर मूल्य घटाउने सहमति गरेका थिए। त्यसपछि पुनः बजारमा सिमेन्टको मूल्य बढेपछि निर्माण व्यवसायीहरूले संसदीय समितिहरूमा पनि गुनासो गरेका छन्।

उनीहरूले सिमेन्ट उत्पादकहरूले कार्टेलिङ गरेर मूल्य बढाएको दाबी गरेका छन्। निर्माण व्यवसायीहरूका अनुसार पछिल्लो तीन महिनामा सिमेन्टको मूल्य प्रतिबोरा चार सय रूपैयाँसम्मले बढेको छ।

दुई दिन अघि मात्रै उद्योग मन्त्री दामोदर भण्डारीकै उपस्थितिमा केही सिमेन्ट उत्पादक र केही निर्माण व्यवसायीबीच पनि छलफल गराइएको थियो।

त्यो छलफलमा सिमेन्ट उत्पादनको लागत घटाउने उद्योगहरूमा नियमित विद्युत आपूर्ति गर्न पहल गर्ने निर्णय भएको थियो।

पुसपछिको समयलाई निर्माणको सिजनका रूपमा लिइन्छ। यो समयमा मूल्य बढाइँदा निर्माण लागत बढ्ने भएको कारण व्यवसायीहरूले सरकारले मूल्य समायोजन गर्ने सर्तमा मात्रै मूल्य वृद्धि स्वीकार्ने बताएका छन्।