बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ ।
बैतडीको खोड्पे, अनारखाली, ढोल्यामोड र सिगास लगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।
सिगासका किसान दानसिंह बोहराका अनुुसार सोमवार रातिदेखि मौसममा बदली आएसँगै मंगलवार बिहानदेखि हिमपात भएको हो ।
वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
वर्षा र हिमपातले किसान हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुशी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए । फोटो : फाइल