भारतबाट आएकी महिलामा कोरोना संक्रमण, जमुनाह नाकामा कडाइ

 #कोरोना     २०७९, १६ पुष शनिबार ०९:३१     95 जनाले पढ़िसके



Spread the love

कोरोना संक्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ ।भारतबाट नेपाल आउँदै गरेकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

कोरोना संक्रमण कम भएपछि गत असोज १ गतेदेखि नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना संक्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ शुरू गरिएको चन्दले बताए । अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न शुरू गरिएको छ ।

भारतको सिमलाबाट नेपाल फर्किंदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलालाई परीक्षणको क्रममा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । उनका अनुसार भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।नेपालगञ्जस्थित जमुनाह नाकामा बिहीवारदेखि कोरोना जाँच शुरू गरिएको छ ।